“अब टिम एक बन्नेछ, उक्त संस्कार विकास गरिनेछ” – पुबुदु

२०७८ पुष २०, मंगलवार ०७:५७

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षणको पहिलो दिन टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायेकेले मिडियासंग प्रतिक्रिया दिंदै क्यान-खेलाडी विवाद समाप्त भएको र अब टिमलाई एकजुट बनाएर विश्वकप छनोटको लागि अघि बढाउने बताएका छन्। सोमबार पहिलो दिन टिमले टियु अन्तर्राष्ट्रिय मैदानमा अभ्यास गर्यो जसमा १६ जना खेलाडीहरु उपस्थित थिए भने दोश्रो वा तेश्रो दिन सम्म सबै खेलाडी अभ्यासमा आउने उनले बताए।

“पहिलो दिन १६ जना खेलाडी उपस्थित छन् तर अन्य खेलाडी पनि आउने छन्। समस्याहरु थियो र मलाई लाग्छ हामी समाधान पाएका छौँ र सबै खुसि छौँ। भोलि अथवा पर्सि हामि सम्पूर्ण टिम सहित अभ्यास गर्नेछौँ। म यति भन्नसक्छु सहमति बनेको छ। उनीहरु सबै सकारात्मक छन्। सबैको आफ्नो आफ्नो इगो हुन्छ तर एउटा टेबलमा बसेपछि सबैले त्यसलाई तल राख्नुपर्छ। र त्यही भएको छ र सबै कुरा अहिले नरम छन्। मलाई लाग्दैनकि अब अगाडी कुनै समस्या हुनेछ।” उनले बताए।

पुबुदुले नेपालको तयारी ढिला सुरु भएता पनि अन्य देशहरुले अझै पनि तयारी सुरु गर्न संघर्ष गरेको जसले गर्दा नेपाल तयारीमा अगाडीनै रहेको बताए – “मलाई लाग्छ जो पनि देश अर्को महिना ओमान आउंदैछन् उनीहरु हालको परिस्थितिमा अभ्यास गर्न संघर्षरत छन्। हामि अझै पनि प्राय टिमहरु भन्दा अगाडी छौँ। हामि भाग्यमानी छौँ कि हामीसंग सबै टिम साथ छ जुन अन्य टिमहरुसंग छैन।”

पुष २५ गते देखि सुरु हुने प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु पनि सहभागी हुने र प्रतियोगितामा प्रदर्शनको आधारमा बन्द प्रशिक्षणमा खेलाडी थप्न सकिने पनि उनले बताए – “अहिले भएका खेलाडीहरुलाई हामि टि-२० फर्म्याटमा ढाल्न अभ्यास गराउनेछौँ। जब पीएम कप सुरु हुन्छ सबैले खेल्नेछन्। ३० जना भन्दा बाहिरको खेलाडी पनि पीएम कपमा राम्रो प्रदर्शन गरेको खण्डमा र लायक भएको खण्डमा उनीहरुलाई पनि ल्याउन सकिनेछ।”

उनले बन्दप्रशिक्षणको दौरान खेलाडीहरुलाई निश्चित रोल दिने र प्रधानमन्त्री कपमा सोहि रोलमा खेलाडीहरुले खेल्ने पनि बताए – “क्यापमा हुँदा म खेलाडीहरुको रोल पहिचान गर्नेछु जुन रोलमा उनीहरु प्रधानमन्त्री कपमा आफ्नो टिमबाट खेल्नेछन्। जस्तै यदी कुनै खेलाडीले सातौँ नम्बरमा राम्रो ब्याटिंग गर्छ भने उसलाईनै ओमानमा लगिनेछ जसको लागि हामि खुला छौँ। तर म निश्चित छु कि ओमान टुरमा जान लायक खेलाडीहरु ९० प्रतिशत बन्द प्रशिक्षणमा समाबेश भएका छन्।”

ओमानमा विश्वकप छनोट खेल्न जानु अघि नेपाली टिमले अन्तर्राष्ट्रिय खेल खेल्ने समेत उनले बताए – “हामीले बोर्डलाई अनुरोध गरेका छौँ दुई वटा देशमा जानको लागि। तर अहिले थाहा छैन आगामी साताहरुमा के हुनेछ। तर यदी सबै कुरा सहि भए, हामि विश्वकप छनोट त्यस अघि अन्य अन्तर्राष्ट्रिय नखेली पक्कै खेल्ने छैनौ भन्नेमा म ढुक्क छु।”

उनले नेपाली क्रिकेटको पछिल्लो परिस्थितिलाई अवसरको रुपमा लिएको र क्यानले आफुलाई स्वतन्त्रता दिएको बताए – “एउटा प्रशिक्षकको रुपमा अहिलेको परिस्थिति मेरो लागि अवसर हो। बोर्डले मलाई राम्रो वातावरण बनाएको छ र उनीहरुले मलाई धेरै स्वतन्त्रता पनि दिएका छन्।”

उनले नेपाली टिमले बिगतमा एउटा टिमको रुपमा खेलेको जसलाई फिर्ता ल्याउने उद्देश्य राखेका छन् – “अब हाम्रो टिम एक बन्नेछ, उक्त संस्कार विकास गरिनेछ। म यो भनिरहेको छैन कि टिममा त्यो थिएन। मैले देखेको छु बिगतमा खेलाडीहरु आफ्नो ज्यान दिएर खेल जिताउन लागि पर्ने गर्छन्। म त्यहीं संस्कृति चाहन्छु र टिम एकजुट भएर आएको हेर्न चाहन्छु। त्यसो भए हामी धेरै कुरा प्राप्त गर्न सक्छौं।”

उनले टिम कप्तान सन्दिप लामिछाने बिग ब्यास लिगको पहिलो चरण सकेर नेपाल फर्कने सम्भावना व्यक्त गरे – “बिग ब्यासको पहिलो चरण जनवरी २० तारिखसम्म सकिनेछ र हामि त्यहीं वरपर उनि आउने सोचीरहेका छौँ तर यही मिति भनेर अहिलेनै तोकिएको छैन। तर हामी उनि पहिलो चरण सकिएपछि यहाँ चाहन्छौं।”

उनले एकदिवसीय फर्म्याटमा ज्ञानेन्द्र मल्ल कप्तान हुने हल्लाबारे बोल्दै “अहिलेको लागि सन्दिपनै कप्तान हो।” बताए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy