निकोलस पुरनले कीर्तिमानी आक्रामक पारि खेल्दा युएईमा जारि अबुधाबी टि-१० लिग अन्तर्गत ११ औं खेलमा नर्दर्न वारियर्सले बांग्ला टाइगर्सलाई ३० रनले पराजित गरेको छ।
शेख जायद स्टेडीयम अबुधाबीमा सम्पन्न खेलमा नर्दर्न वारियर्सले दोश्रो जित दर्ता गर्ने क्रममा पहिले ब्याटिंग गर्दै दिएको १६३ रनको लक्ष्य पछ्याउने क्रममा बांग्लाले १० ओभर ब्याटिंग गरेता पनि ३ विकेट गुमाएर १३२ रन बनाउन सक्यो।
बांग्लाको ब्याटिंगमा आन्द्रे फ्लेचरले सर्वाधिक ५३ रन बनाए जुन क्रममा २८ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। फ्लेचरले २२ बलमा अर्धशतक पुरा गरेका थिए। यस्तै चिराग सुरीले अविजित ४२ रन बनाए जुन क्रममा १५ बलमा ५ छक्का प्रहार गरे। टम मुरेसले अविजित १६ रन बनाए। नर्दर्नको बलिंगमा वाहब रियाज, जुनैद सिद्दिकी र फाबियन एलेनले समान १ विकेट लिए। रियाजले २ ओभर बलिंग गर्दै मात्र ९ रन खर्चिए।
पुरनको विस्फोटक ब्याटिंग
यस अघि टस हारेर ब्याटिंग गरेको नर्दर्न वारियर्सले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाएको थियो।
उसको लागि कप्तान निकोलस पुरनले सर्वाधिक ८९ रन बनाए जुन क्रममा २६ बलमा ३ चौका र १२ छक्का प्रहार गरे। यस्तै लेन्डल सिमोन्सले २२ बलमा ३ चौका र ३ छक्का मद्दतले ४१ रन बनाए। रोभम्यान पावेलले अविजित १३ तथा वासिम मुहमदले १२ रन बनाए।
बांग्ला टाइगर्सको बलिंगमा करिम जनतले २ विकेट ( २-०-१८-२ ) , मुजिब उर् रहमान र कैस अहमदले समान १ विकेट लिए।
पुरनले बनाए नयाँ कीर्तिमान
८९ रनको इनिंग्सको क्रममा पुरनले प्रहार गरेको १२ वटा छक्का टि-१० क्रिकेट इतिहासमै कुनै ब्याट्सम्यानले एकै इनिंग्समा प्रहार गरेको सर्वाधिक छक्का हो।
कैस एहमदले गरेको इनिंग्सको चौथो ओभरमा पुरनले ३ छक्का र १ चौका प्रहार गरेका थिए। त्यसपछि मोहम्मद इरफानले गरेको छैठौं ओभरमा पनि पुरनले ३ वटा छक्का लगातार प्रहार गरेका थिए। सातौं ओभरमा मुजिब उर् रहमानको बलमा छक्का प्रहार गर्दै पुरनले मात्र १७ बलमानै अर्धशतक पुरा गरेका थिए।
त्यसपछि जर्ज गार्टनले गरेको इनिंग्सको आठौँ ओभरमा पुरनले ४ वटा छक्का र २ चौका प्रहार गरे। टि-१० क्रिकेटमा पहिलो शतकतर्फ अघि बढेका पुरनलाई नवौं ओभरमा पुरनलाई करिम जनतले क्याच आउट गराएका थिए।
नर्थर्न वारियर्सले बनाएको १६२ रन टि-१० क्रिकेट इतिहासको दोश्रो सर्वाधिक टिम योगफल हो। यस अघि २०१८ को टि-१० लिगमा नर्थर्न वारियर्सले पन्जाब लेजेन्ड्स टिम बिरुद्ध अहिलेसम्मकै सर्वाधिक १८३ रन बनाएको थियो। उक्त खेलमा पनि निकोलस पुरनले विस्फोटक ब्याटिंग गर्ने क्रममा २५ बलमा १० छक्का र २ चौका मद्दतले ७७ रन बनाएका थिए।
यस्तै पुरनले बनाएको ८९ रन टि-१० लिग इतिहासको दोश्रो सर्वाधिक व्यक्तिगत स्कोर हो। सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान क्रिस लिनको नाममा रहेको छ जसले मराठा अरबियन्सबाट खेल्दै २०१९ मा अविजित ९१ रन बनाएका थिए। क्रिस लिनलेनै २०१९ मै ८९ रनको पनि इनिंग्स खेलेका थिए।