पब्लिक युथलाई ह्याट्रिक उपाधि

आयोजक पब्लिक युथ क्याम्पसले लगातार तेश्रो पटक टियु बिबिए कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

काठमाडौँ स्थित मुलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा पब्लिक युथले कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एण्ड इन्फर्मेसन टेक्नोलोजीलाई ( केसीएमआईटि )  १२ रनले पराजित गर्यो।  पब्लिक युथले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा केसीएमआईटिले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षतिमा १३७ रन मात्र बनायो।

केसीएमआईटिको ब्याटिंगमा सुबास सापकोटाले सर्वाधिक ५३ रन तथा अमित अमित मरहट्टाले ३१ रन बनाए। पब्लिक युथका बलर दिवश भट्टराई र सुशान्त सिंहले २/२ विकेट तथा रबिन साउद र सुबोध लामिछानेले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको पब्लिक युथ क्याम्पसले २० ओभरमा ४ विकेट क्षतिमा १४९ रन बनाएको थियो।

पब्लिक युथको ब्याटिंगमा रबिन साउदले सर्वाधिक ६२ रन बनाए जुन क्रममा उनले ३९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै इर्शाद अलिले २२, निरञ्जन ढकालले १७ तथा सुनिल थापाले १५ रन बनाए। केसीएमआईटिका बलर सक्षम उप्रेती, सुबाश सापकोटा र सवन भण्डारीले १/१ विकेट लिए।

प्रतियोगिताको उत्कृस्ट खेलाडी पब्लिक युथका रबिन साउद घोषित भए। यस्तै उत्कृस्ट बलर पब्लिक युथका दिवस भट्टराई र उत्कृस्ट ब्याट्सम्यान सुशान्त सिंह घोषित भए।

उपाधिसंगै पब्लिक युथ क्याम्पसले ८५ हजार रुपैयाँ तथा उपविजेता केसीएमआईटिले ३५ हजार रुपैयाँ प्राप्त गर्यो। विजेता खेलाडीहरुलाई नेपाल क्रिकेट संघ ( क्यान ) का कोषाध्यक्ष रोशन कुमार सिंहले पुरस्कार वितरण गर्नु भयो।

म्यान क्यान डुले आयोजना गरेको प्रतियोगितामा त्रिभुवन विश्वविधालयका १८ क्याम्पस सहभागी थिए।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy