राशिद खान र मुजिबको बलिङ्गमा अफगानिस्तानको बिशाल जित

२०७५ भाद्र ७, बिहीबार १०:०५

  • विकेटनेपाल – ७ भदौ, बिहिवार

आयरल्याण्ड बिरुद्धको ३ खेलको ट्वान्टी-२० शृंखला पाहुना टोलि अफगानिस्तानले एक खेल अगावै आफ्नो नाम गरेको छ। ब्रेडी क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा अफगानिस्तानले आयरल्याण्डमाथि ८१ रनको बिशाल जित दर्ता गरेको हो। जितसंगै ३ खेलको सिरिज २-० ले अफगानिस्तानले आफ्नो पक्षमा पारेको छ।

टस जितेर ब्याटिंगगर्ने निर्णय लिएपछि मैदान उत्रिएको अफघान टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउंदै १६० रन जोडेको थियो। उसका हज्रतुलाह जजाईले सर्वाधिक ८२ रनको इनिंग खेले। यस्तै कप्तान अस्घर स्टानिक्जाईले व्यक्तिगत ३७ तथा नाजिबुल्लाह जद्रानले व्यक्तिगत २० रनको योगदान गरेका थिए।

लगातार दुई खेलमा अर्ध-शतक बनाउने क्रममा जजाईले ५४ बलको सामना गर्दै ८२ रन जोडेका थिए। डक्रेलको बलमा सिमि सिंहबाट समातिन अघि उनले ६ चौका र ७ छक्का प्राहार गरे। यसअघि सम्पन्न सिरिजको पहिलो खेलमा समेत उनले अर्ध-शतकीय पारि खेलेका थिए। यस्तै कप्तान स्टानिक्जाईले ३४ बलमा ३७ तथा नाजिबुल्लाह जद्रानले मात्र १० बलमा २० रन जोड्न भ्याए।

आयरल्याण्डको बलिंगमा पिटर चेजले सर्वाधिक ३ विकेट चट्काएका थिए। यस्तै बोय्ड र्यान्किनको नाममा भने २ विकेट रह्यो।

राशिद र मुजिबको बलिङ्गमा आयरल्याण्ड निरिह  

जवाफमा १६१ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको आइरिस टोलि १५ ओभर ब्याटिंग गर्दै मात्र ७९ रनमा समेटिन पुग्यो। आयरल्याण्डको चेजमा विलियम पोर्टरफिल्डले सर्वाधिक ३३ रन जोडेपनि त्यो जितका लागि पर्याप्त हुन सकेन। यस्तै कप्तान ग्यारी विल्सनले २२ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन्।

घरेलु टोलीको ब्याटिंगलाई घुंडा टेकाउन मुजिब उर् रहमान र राशिद खानको स्पिन जोडी प्रभावकारी बन्यो। मात्र ३ ओभरको स्पेलमा राशिदले १७ रन खर्चिएर ४ विकेट हात पारे। यस्तै आफ्नो ४ ओभरको स्पेलमा मुजिबले १७ रन खर्चिएर ३ विकेट लिए। स्पिन जोडीले गरेको ७ ओभरमा आयरल्याण्डले ३४ रन लिंदा ७ विकेट गुमाउन पुग्यो। सिरिजको अन्तिम खेल अगष्ट २४ तारिकमा हुनेछ। टि-२० शृंखलापछि दुई टोलिबीच ३ वटा खेलको एक दिवसीय शृंखला संचालन हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy