पीएसएल : राशिद खानले ४ ओभरमा खर्चिए मात्र ९ रन

२०७८ जेष्ठ २७, बिहीबार ००:१९

युएईको अबुधाबीमा बुधबार सुरु भएको पाकिस्तान सुपर लिगको दोश्रो चरणको खेल अन्तर्गत लाहोर कलन्दर्सको प्रतिनिधित्व गरिरहेका लेग स्पिनर राशिद खानले अचम्मित पार्ने किफायती बलिंग गरेका छन्।

अफ्गानी लेग स्पिनरले इश्लामाबाद युनाइटेड बिरुद्ध ४ ओभर बलिंग गर्ने क्रममा मात्र ९ रन खर्चेर १ विकेट लिएका हुन्। त्यस क्रममा उनले कुल १५ वटा डट बल गरेका थिए।

खेलमा टस हारेर ब्याटिंग गर्ने क्रममा शदाब खान कप्तानीको इश्लामावादले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनाएको छ। यस क्रममा लाहोरका अन्य बलर सबैले ७ भन्दा माथि प्रतिओभर रन खर्चदा राशिदले भने निकै किफायती बलिंग गरेका हुन्।

राशिदले नवौं ओभरमा बलिंगको सुरुवात गरेका थिए जुन ओभरमा उनले मात्र १ रन खर्चिए। त्यसपछि ११ औं ओभरमा ४ रन खर्चिएका उनले १३ औं ओभरमा ३ रन खर्चेर १ विकेट लिए। १६ औं ओभरमा स्पेल समाप्त गर्ने क्रममा उनले मात्र २ रन खर्चिए।


टि-२० क्रिकेटमा राशिदले ४ ओभर बलिंग गर्दा १० भन्दा कम रन खर्चिएको यो पाँचौ अवसर हो। यस अघि उनले आईपीएल २०२० मा सनराइजर्स हैदरावादको लागि खेल्ने क्रममा दिल्ली क्यापिटल्स बिरुद्ध ४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिएका थिए। यस्तै २०१८ को बिग ब्यास लिगमा एडीलेडबाट खेल्ने क्रममा पर्थ स्करचर्स बिरुद्ध ४ ओभरमा ९ रन खर्चिएका थिए। सन् २०१७ को करेबियन प्रिमियर लिगमा उनले गायना अमेजन वारियर्सबाट खेल्ने क्रममा सेन्ट लुसिया स्टार्स बिरुद्ध ४ ओभरमा ९ रन खर्चेर २ विकेट लिएका थिए। सोहि वर्ष उनले बंगलादेश प्रिमियर लिगमा कोमिल्ला भिक्टोरियन्सबाट खेल्ने क्रममा राजशाही किंग्स बिरुद्ध ४ ओभरमा ७ रन खर्चेर १ विकेट लिएका थिए।

टि-ट्वान्टी क्रिकेटमा राशिद भन्दा बढी सामुएल बद्रिले ७ पटक तथा सुनिल नारायणले १२ पटक ४ ओभर बलिंग गर्दा १० रन भन्दा कम रन खर्चेका छन्।

टि-ट्वान्टी क्रिकेटमा सबैभन्दा किफायती स्पेलको रेकर्ड पाकिस्तानका मोहम्मद इरफानको नाममा रहेको छ। इरफानले करेबियन प्रिमियर लिग टि-२० २०१८ मा बार्बेडोस ट्राईडेन्टको प्रतिनिधित्व गर्दै सेन्ट किट्स बिरुद्ध ४ ओभर बलिंग गर्दा ३ ओभर मेडन गर्दै १ रन खर्चेर २ विकेट लिएका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy