- विकेटनेपाल, पुष २३ , सोमबार
सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा प्रदेस नम्बर-२ ले आयोजक शान्तिदीप इनरुवालाई २०८ रनले पराजित गरेको छ।
खेलमा टस जितेर ब्याटिंग गरेको प्रदेश नम्बर-२ ले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३०१ रनको योगफल तयार गरेको थियो।
प्रदेश नम्बर-२ को ब्याटिंगमा बिशाल सुसलिङले शतक बनाए जुन क्रममा १०८ बलमा १५ चौका र १ छक्का मदतले १११ रन बनाए। यस्तै आशु कन्डोईले ७७ रन तथा हरिशंकर शाहले ४४ रन बनाए। शान्तिदीपका बलर सरोज बस्नेतले सर्वाधिक ३ विकेट लिए।
३०२ रनको लक्ष्य पछ्याउने क्रममा शान्तिदीप ९३ रनमा समेटिन पुग्यो। उसको लागि सरोज वस्नेतले सर्वाधिक १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानहरुले खास योगदान दिन सकेनन्।
शान्तिदीपलाई सानो योगफलमा रोक्न यु-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका प्रदेश नम्बर-२ का फास्ट बलर रासिद खानले ४ विकेट हात पारे शतक बनाएका बिशाल सुसलिङ खेलको प्लेयर अफ द म्याच चुनिए।

जित हात पारे पनि प्रदेश नम्बर-२ सेमीफाइनल प्रवेश गर्न भने असफल रह्यो। समुहमा खेलेको २ वटै खेल जित्दै नेपाल पुलिस क्लब यस अघिनै सेमीफाइनल प्रवेश गरिसकेको छ।
प्रतियोगिता अन्तर्गत मंगलबार देखि समुह ‘बि’ का खेलहरु सुरु हुनेछन्। भोलिको खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर-३ को सामना गर्नेछ।
माघ ७ गतेसम्म चल्ने प्रतियोगितामा शान्ति दीप नेपाल इनरुवा तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजना रहेको छ।
प्रतियोगिताको विजेताले उपाधिसँगै रु. ४ लाख १ हजार , उपविजेताले रु २ लाख १ हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले रु २५/२५ हजार पाउनेछन्। यस्तै उत्कृष्ट खेलाडीले रु ५१ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही रु २० हजार १०० पुरस्कार पाउनेछन्। अनुशासित टोलीले १५ हजार र उदीयमान टोलीले १० हजार नगद पाउनेछन्।
( समाचार र फोटो श्रोत – इनरुवा अनलाइन )