क्रिकेटमा चम्किए दाङका शुभम, कपिलवस्तुका रौनक र प्रशिक्षक सञ्जु — नगदसहित सम्मान

हिमाल महरा
घोराही, २६ असार । एसीसी यु–१६ इस्टर्न जोन कप विजेता नेपाली क्रिकेट टोलीका सदस्य शुभम खनाल, रौनक श्रीवास्तव र सहायक प्रशिक्षक सञ्जु क्षेत्रीलाई खेलकुद परिषद लुम्बिनीले नगदसहित सम्मान गरेको छ।

बिहीबार देउखुरीमा आयोजित कार्यक्रममा दाङ लमही–५ का बलर शुभम खनाल र कपिलवस्तु कृष्णनगर–१ का ब्याट्सम्यान रौनक श्रीवास्तवलाई जनही १ लाख रुपैयाँ तथा दाङ घोराही–१३ का प्रशिक्षक सञ्जु क्षेत्रीलाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो।

श्रीवास्तवले प्रतियोगितामा १ शतक र १ अर्धशतकसहित २९६ रन बनाउँदै प्लेयर अफ द टुर्नामेन्ट बनेका थिए भने शुभम खनालले १२ विकेट लिएर बलिङतर्फ प्रभावित पारे। प्रशिक्षक सञ्जु क्षेत्रीले टिमको मनोबल उच्च राख्न विशेष भूमिका खेलेका थिए।

लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतम र सदस्य कैलाश रोका मगरले टिमको उत्कृष्ट प्रदर्शनले क्षेत्रको मात्र नभई देशको गौरव बढाएको बताए। नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप मजगैयाँले खेलाडी र प्रशिक्षकको सम्मानले लुम्बिनीमा क्रिकेटको भविष्य उज्यालो बनाउने विश्वास व्यक्त गरे।

मलेसियामा असार ८ देखि २१ गतेसम्म आयोजित प्रतियोगितामा नेपालले सिङ्गापुरलाई दुई विकेटले हराउँदै उपाधि जितेको थियो। प्रतियोगितामा १० देश सहभागी थिए। नेपाल यसअघि पनि २०१७, २०१९ र २०२३ मा उपाधि जितिसकेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy