सनसनीपूर्ण खेलमा बैंगलोरसंग चेन्नाई १ रनले पराजित, धोनीको विस्फोटक इनिंगले दिलाएन जित

  • विकेटनेपाल, बैशाख ८

सनसनिपूर्ण खेलमा चेन्नाई सुपर किंग्सलाई १ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएलमा तेश्रो जित दर्ता गरेको छ। १० खेलमा ३ जित र ७ हार बेहोरेको बैंगलोर अझै अंकतालिकाको पुछारमा रहेको छ। १० खेलमा ७ जित र ३ हार बेहोरेको चेन्नाई १४ अंक सहित अंकतालिकाको शिर्ष स्थानमा रहेको छ।

रोमान्चक रह्यो खेल 

बैंगलोरको घरेलु मैदानमा टस हारेर ब्याटिंग गर्दै बैंगलोरले दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईको सुरुवात अत्यन्त खराब रह्यो। ओपनर शेन वाटसन र फाफ डु प्लेसीस ५/५ रन बनाएर आउट भए भने सुरेश रैनाले खाता खोल्न सकेनन्। लगत्तै केदार जाधब पनि ९ रन बनाएर आउट हुँदा चेन्नाईको योगफल छैठौं ओभरमा २८/४ पुग्यो।

पाँचौ विकेटको लागि कप्तान महेन्द्र सिंह धोनी र अम्बाती रायडुले ५५ रनको साझेदारी गरे। रायडु २९ रन बनाएर आउट भए पछि धोनीले छैठौं विकेटको लागि रभिन्द्र जडेजासंग २५ रन तथा ड्वेन ब्राभोसंग २८ रनको साझेदारी गरे। जडेजा ११ र ब्राभो ५ रन बनाएर आउट भए।

अर्को किनारमा लगातार विकेट गुमे पनि धोनीले एक किनार सम्हालीरहे र चेन्नाईलाई जितको आशा दिलाई रहे।

धोनीको अचम्मित पार्ने ब्याटिंग, १ रनले बैंगलोरको जित 

अन्तिम ओभरमा चेन्नाईलाई जितको लागि २६ रन आवस्यक रह्यो। बलिंग गर्न आए उमेश यादब।

पहिलो बलमै धोनीले चौका प्रहार गरे भने दोश्रो र तेश्रो बलमा लगातार २ छक्का प्रहार गरे। अब जितको लागि ३ बलमा चेन्नाईलाई १० रन आवस्यक रह्यो।

चौथो बलमा धोनीले २ रन लिए भने त्यसपछि पाँचौ बलमा छक्का प्रहार गरे।

अब जितको लागि अन्तिम बलमा चेन्नाईलाई २ रन आवस्यक रह्यो।

अन्तिम बलमा यादबले गरेको सुस्त बलमा धोनीले बल छुन सकेनन्। तर अर्को किनारमा रहेका शार्दुल ठाकुर रन लिन दगुरीसकेका थिए। विकेटकिपर पार्थिभले शार्दुललाई रन आउट गरे।

बैंगलोरले १ रनले खेल जित्यो।

धोनीले ४८ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै अविजित ८४ रन बनाए पनि टिमको लागि जित भने दिलाउन सकेनन्।

बैंगलोर बलर डेल स्टेन ( ४-०-२९-२ ) , उमेश यादब ( ४-०-४७-२ ) ले २/२ विकेट लिए।

बैंगलोरको ब्याटिंग 

यस अघि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो।

ओपनर पर्थिभ पटेलले बैंगलोरको लागि सर्वाधिक ५३ रन बनाए। ३७ बलमा उनले ४ छक्का र २ चौका प्रहार गरे। मोइन अलिले २६, ए बि डीभिल्लर्सले २५ तथा अक्षदिप नाथले २४ रन बनाए। कप्तान कोहलीए ९ रन मात्रै बनाउन सके।

चेन्नाई बलर दिपक चाहर ( ४-०-२५-२ ) , ड्वेन ब्राभो ( ४-०-३४-२ ) र रभिन्द्र जडेजाले ( ४-०-२९-२ ) २/२ विकेट लिए।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy