युएईमा जारि दोश्रो फेजको इन्डियन प्रिमियर लिग अन्तर्गत ४३ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा राजस्थानले दिएको १५० रनको लक्ष्य बैंगलोरले ३ विकेट क्षेतीमा १७.१ ओभरमा भेटायो।
बैंगलोरको लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५० रन योगदान दिए जुनक्रममा अविजित रहेका उनले ३० बलमा ६ चौका र १ छक्का प्रहार गरे। यस्तै श्रीकर भारतले ३५ बलमा ३ चौका र १ छक्का मद्दतले ४४ रन बनाए। यस्तै कप्तान बिराट कोहलीले २५ तथा देभदत्त पडीक्कलले २२ रन योगदान दिए।
लक्ष्य पछ्याउने क्रममा बैंगलोरको सुरुवात राम्रो रह्यो। कोहली र पडीक्कलले ४८ रनको ओपनिंग साझेदारी गरे। तर पाँचौ र छैठौंमा दुवै ब्याट्सम्यान आउट हुँदा राजस्थान खेलमा फर्कियो। कोहलीलाई रीयान परागले रन आउट गरे। त्यसपछि तेश्रो विकेटको लागि श्रीकर भारत र ग्लेन म्याक्सवेलले ६९ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए। राजस्थानको बलिंगमा मुस्तफिजुर रहमानले २ ( ३-०-२०-२ ) विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १४९ रन बनाएको थियो। उसको लागि ओपनर इभिन लुइसले सर्वाधिक ५८ रन बनाए जुन क्रममा ३७ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै यशस्वी जैसवालले ३१, कप्तान सन्जु स्यामसनले १९ तथा क्रिस मोरिसले १४ रन योगदान दिए।
उत्कृस्ट सुरुवात गरेको राजस्थानले एक समय १०० रन बनाउदा मात्र १ विकेट गुमाएको थियो। तर १२ औं ओभरको पहिलो बलमा लुइसलाई जर्ज गार्टनले पेभेलियन फर्काएपछि उसले लगातार विकेट गुमाउन पुग्यो। फलस्वरुप त्यसपछि ९ ओभरमा राजस्थानले थप ४९ रन मात्र बनाउदा थप ७ विकेट गुमायो।
बैंगलोरको बलिंगमा हर्षल पटेलले सर्वाधिक ३ विकेट ( ४-०-३४-३ ) लिए भने युजभेन्द्र चहल ( ४-०-१८-२ ) र शाहबाज एहमद ( २-०-१०-२ ) ले समान २ विकेट तथा जर्ज गार्टन र ड्यान क्रिस्चियनले समान १ विकेट लिए।
अंकतालिकाको अवस्था : ११ खेल खेल्दा ७ जित र ४ हार बेहोरेको बैंगलोर लिग अंकतालिकामा १४ अंक सहित तेश्रो स्थानमा यथावत रहेको छ। ११ खेल खेल्दा सातौँ हारपछि राजस्थान रोयल्स ८ अंक सहित सातौँ स्थानमा छ।

