बैंगलोर-कोलकाता बीचको खेलमा बनेका ८ रोचक कीर्तिमानहरु

२०७७ कार्तिक ६, बिहीबार ००:०७

युएईमा जारि आईपीएल २०२० अन्तर्गत ३९ औं खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले लिगमा सातौँ जित दर्ता गर्दै अंकतालिकाको दोश्रो स्थानमा उक्लन सफल भयो। शेख जायद स्टेडियम, अबुधाबीमा सम्पन्न खेलमा कोलकाताले दिएको ८५ रनको लक्ष्य बैंगलोरले २ विकेट गुमाएर १३.३ ओभरमा सहजै पुरा गर्यो। खेलमा बनेका कीर्तिमानहरुबारे यहाँ चर्चा गरेका छौँ –

१) पुरा २० ओभर ब्याटिंग गर्दै इतिहासकै कम योगफल : कोलकाताले बनाएको ८४ रनको योगफल आईपीएल इतिहासमै कुनै पनि टिमले पुरा २० ओभर ब्याटिंग गर्दा बनाएको सबैभन्दा कम योगफल हो। यस अघि यो रेकर्ड पन्जाबको नाममा थियो जसले २००९ मा चेन्नाई बिरुद्ध २० ओभरमा ८ विकेट गुमाएर ९२ रन बनाएको थियो। ११ वर्षपछि पन्जाबको कीर्तिमान टुटेको हो। सन् २०११ मा मुम्बईले राजस्थानसंग ८४ रन तथा पन्जाबले २०१५ मा चेन्नाई बिरुद्ध ९५ रन मात्र बनाएको थियो।

२) कोलकाताको दोश्रो कम योगफल : ८४ रन, लिग इतिहासमै कोलकाताको दोश्रो कम योगफल हो। सबैभन्दा कम योगफल कोलकाताको ६७ रन हो जुन उसले मुम्बई बिरुद्ध २००८ मा बनाएको थियो। १०० भन्दा कम योगफलमा कोलकाता इतिहासमा मात्र ३ पटक समेटिएको छ।

३) बैंगलोर बिरुद्ध तेश्रो कम योगफल : बैंगलोर बिरुद्ध कुनै पनि टिमले बनाएको यो तेश्रो कम योगफल हो। यस अघि राजस्थानले २००९ मा ५८ तथा डेक्कन चार्जर्सले २०१० मा ८२ रन बनाउन सकेको थियो।

४) सिराजको मेडन ओभरको कीर्तिमान : खेलमा ४ ओभर बलिंग गर्दा २ मेडन ओभर फाल्दै दायाँ हाते पेसर मोहम्मद सिराजले ८ रन खर्चेर ३ विकेट लिएका थिए। सिराज एकै इनिंगमा २ ओभर मेडन ओभर गर्ने आईपीएल इतिहासकै पहिलो बलर बनेका छन्। यस अघि कसैले पनि एकै खेलमा १ ओभर भन्दा बढी ओभर मेडन गर्न सकेका थिएनन्।

५) एकै इनिंगमा धेरै मेडन ओभरको कीर्तिमान : कोलकाताको इनिंगमा बैंगलोर बलर मोहम्मद सिराजले २ वटा तथा वासिंगटन सुन्दर र क्रिस मोरिसले १/१ वटा मेडन ओभर गरे। आईपीएल इतिहासमै एकै इनिंगमा कुनै पनि टिमले गरेको यो सबैभन्दा धेरै मेडन ओभर हो। यस अघि कुनै पनि टिमले २ भन्दा बढी मेडन ओभर एकै इनिंगमा फालेको थिएन।

६) सबैभन्दा सुस्त ५० रन : कोलकाताले इनिंगमा ५० रन पुरा गर्न १५ ओभर लगाएको थियो जुन इतिहासकै सुस्त हो। यस अघि सबैभन्दा सुस्त ५० रन पुरा गर्ने टिम पन्जाब थियो जसले चेन्नाई बिरुद्ध १००९ मा १३.१ ओभरमा ५० रन पुरा गरेको थियो।

७) पावरप्लेमा कोलकाताको इतिहासकै कम रन : कोलकाताले खेलमा पावरप्लेको ६ ओभरमा मात्र १७ रन बनाएर ४ विकेट गुमाएको थियो। कोलकाताले लिग इतिहासमै पावरप्लेमा बनाएको यो सबैभन्दा कम रन हो। २००९ मा डेक्कन चार्जर्स बिरुद्ध दक्षिण अफ्रीकामा आईपीएल हुँदा कोलकाताले ६ ओभरमा २१ रन बनाएर ३ विकेट गुमाएको थियो। कोलकाताले २०१० मा चेन्नाई बिरुद्ध २२ रन तथा २०१४ मा पन्जाब बिरुद्ध २४ रन बनाएको थियो।

८) बिराट कोहलीको ५ सयौं चौका : आईपीएल इतिहासमा ५ सय चौका प्रहार गर्ने बैंगलोर कप्तान बिराट कोहली दोश्रो ब्याट्सम्यान बनेका छन्। यस अघि शिखर धवनले मात्र ५ सय चौका प्रहार गरेका थिए। कोहलीले कोलकाता बिरुद्ध अविजित १८ रन बनाउने क्रममा २ चौका प्रहार गर्दै चौका संख्या ५ सय पुर्याए। धवनले ५७५ चौका प्रहार गरेका छन्। तेश्रो धेरै सुरेश रैनाले ४९३ प्रहार गरेका छन् भने चौथो धेरै गौतम गम्भीरले ४९१, पाँचौ धेरै डेभिड वार्नरले ४८५ तथा छैठौं धेरै रोहित शर्माले ४५३ चौका प्रहार गरेका छन्। ४ सय भन्दा बढी चौका आईपीएलमा मात्र ८ जना ब्याट्सम्यानले प्रहार गरेका छन्।

कोलकाता बिरुद्ध जितपछि १४ अंक बटुल्दै बैंगलोर मुम्बईलाई पछि पार्दै अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ। नेट रन रेटमा दिल्ली अघि रहँदै पहिलो स्थानमा रहेको छ। १२ अंक सहित मुम्बई तेश्रो स्थानमा छ। १० खेलमा ५ हार र ५ जित बेहोरेको कोलकाता १० अंक सहित चौथो स्थानमा यथावत रहेको छ। ८ अंक सहित पन्जाब पाँचौ स्थानमा र समान अंक रहेको राजस्थान छैठौं स्थानमा छ। समान ६ अंक रहेको हैदरावाद र चेन्नाई सातौँ र आठौँ स्थानमा रहेको छ। बैंगलोरले आगामी खेल आइतबार चेन्नाईसंग तथा कोलकाताले शनिवार दिल्ली बिरुद्ध खेल्ने तालिका रहेको छ।

सिराजले कीर्तिमानी बलिंग गर्दा, कोलकातालाई सहजै हराउदै बैंगलोर दोश्रो स्थानमा उक्लियो

चेन्नाईका अलराउण्डर ब्राभो आईपीएलबाट बाहिरिए

अनुभवी खेलाडीहरुलाई बाहिर राख्दै जिम्बाब्वे सिरिजको लागि पाकिस्तान टिमको घोषणा

लाराद्वारा पन्जाब कप्तान केएल राहुलको तारिफ

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy