हाइस्कोरिंग खेलमा घरेलु टोलि इंग्ल्यान्डलाई ३१ रनले पराजित गर्दा पाकिस्तानले ३ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिजमा १-० को अग्रता पाएको छ।
नटिंघम स्थित ट्रेन्ट ब्रिज स्टेडियममा सम्पन्न खेलमा पाकिस्तानले दिएको २३३ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले १९.२ ओभरमा सबै विकेट गुमाएर २०१ रन मात्र बनाउन सक्यो। एकै खेलमा बनेको कुल ४३३ रन पाकिस्तान सहभागी भएको खेलमा इतिहासकै सर्वाधिक हो। २०१ रन पाकिस्तान बिरुद्ध इंग्ल्यान्डको सर्वाधिक योगफल हो। यस्तै ३१ रनको जित इंग्ल्यान्ड बिरुद्ध पाकिस्तानको सर्वाधिक रनअन्तरको जित हो।
इंग्ल्यान्डको लागि दायाँ हाते ब्याट्सम्यान लियाम लिभिंगस्टोनले शतकीय योगदान दिएता पनि अन्य ब्याट्सम्यानले उनलाई गतिलो साथ दिन सकेनन्। जेसन रोयले ३२ तथा ओएन मोर्गन र डेभिड विलिले समान १६ रन योगदान दिए।
करियरकै पहिलो शतक बनाउने क्रममा लिभिंगस्टोनले ४३ बलमा ६ चौका र ९ छक्का प्रहार गरे। पाकिस्तान बिरुद्ध टि-२० अन्तर्राष्ट्रियमा शतक बनाउने उनि पहिलो खेलाडी समेत बन्न पुगे। ४२ बलमा उनले शतक पुरा गरे जुन इंग्ल्यान्ड ब्याट्सम्यानको सबैभन्दा छिटो शतक हो भने टि-२० अन्तर्राष्ट्रिय क्रिकेटकै संयुक्तरुपमा चौथो छिटो शतक हो।

लक्ष्य पछ्याउने क्रममा लगातार विकेट गुमाएको इंग्ल्यान्ड ८२/४ को अवस्थामा थियो। पाँचौ विकेटको लागि लिभिंगस्टोनले ओएन मोर्गनसग ५१ रनको तथा छैठौं विकेटको लागि लुइस ग्रेगोरीसंग ४० रनको साझेदारी गरे।
१६ ओभरमा इंग्ल्यान्ड १७७/५ को अवस्थामा रहेको इंग्ल्यान्डलाई जित्न २४ बलमा ५६ रन आवस्यक थियो।तर १७ औं ओभरमा लिभिंगस्टोनलाई शदाब खानले लंगअनमा क्याच आउट गराएपछि पाकिस्तान खेलमा पूर्णतः हावी भएको थियो। सोहि ओभरमा शदाबले ग्रेगोरीको पनि विकेट लिंदै पाकिस्तानलाई खेलमा हावी गराए।
पाकिस्तानको बलिंगमा शाहिन अफ्रिदी ( ३.२-०-३०-३ ) र शदाव खान ( ४-०-५२-३ ) ले समान ३ विकेट लिए। इमाद वासिम, मोहम्मद हसनैन र हरिस रौफले समान १ विकेट लिए।
पाकिस्तानको रेकर्ड योगफल
यस अघि टस हारेर ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट क्षेतीमा २३२ रन बनाएको थियो। टि-२० अन्तर्राष्ट्रिय इतिहासमा पाकिस्तानको यो सर्वाधिक टिम योगफल हो। आठौँ पटक पाकिस्तानले २ सय माथिको योगफल बनाउन सकेको हो।
पाकिस्तानको लागि ओपनरद्वय मोहम्मद रिजवान र कप्तान बाबर आजमले १५० रनको ओपनिंग साझेदारी गर्दै उत्कृस्ट सुरुवात दिलाएका थिए। यो पाकिस्तानको कुनै पनि विकेटको लागि दोश्रो ठूलो साझेदारी हो। रिजवान र आजमलेनै यसै वर्ष दक्षिण अफ्रीका बिरुद्ध सर्वाधिक १९७ रनको ओपनिंग साझेदारी गरेका थिए।

आजमले ४९ बलमा ८ चौका र ३ छक्का मद्दतले ८५ रन तथा रिजवानले ४१ बलमा ८ चौका र १ छक्का मद्दतले ६३ रन बनाए। १५ औं ओभरमा रिजवानलाई लुइस ग्रेगोरीले कट बिहाईन्ड गराउदै साझेदारी तोडेका थिए। १७ औं ओभरमा ओभरमा आजमलाई डेभिड विलिले कट बिहाईन्डनै गराए।
आजम र रिजवानको विकेट पछि फखर जमान र मोहम्मद हफिजले ४६ रनको साझेदारी गर्दै विशाल योगफलतर्फ डोर्याए। जमानले ८ बलमा ३ छक्का र १ चौका मद्दतले २६ तथा हफिजले १० बलमा ३ छक्का र १ चौका मद्दतले २४ रन बनाए।
इंग्ल्यान्डको बलिंगमा टम करनले सर्वाधिक २ विकेट तथा डेभिड विलि, सकिब मोहम्मद र लुइस ग्रेगोरीले समान १ विकेट लिए।
सिरिज अन्तर्गत दोश्रो खेल जुलाई १८ तारिखमा तथा तेश्रो खेल जुलाई २० तारिखमा खेलिनेछ। यस अघि सम्पन्न एकदिवसीय सिरिज इंग्ल्यान्डले ३-० ले क्लिन स्विप गरेको थियो।
