युएसए माइनर लिग : बसन्तले लिए उन्मुक्त चन्दको विकेट, पृथुको राम्रो ब्याटिंग

२०७८ भाद्र १३, आईतवार १७:४८

हलिवुड मास्टर्स ब्लास्टर्स टिमको प्रतिनिधित्व गर्दै अमेरिकामा जारि माइनर लिग क्रिकेट खेलीरहेका पृथु बास्कोटा र बसन्त रेग्मीले लिगको पाँचौ खेलमा राम्रो ब्याटिंग प्रदर्शन गरेका छन्।

लिगमा पहिलो जित दर्ता गर्ने क्रममा मास्टर ब्लास्टर्सले अमेरिकी राष्ट्रिय क्रिकेट टिमका कप्तान सौरभ नेत्रभाल्कर कप्तानीको टिम सिलिकन भ्याली स्ट्राइकर्सलाई ७ विकेटले पराजित गर्यो। स्ट्राइकर्समा पूर्व भारतीय अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान उन्मुक्त चन्द समेत रहेका थिए। चन्दको कप्तानीमा भारतले २०१२ को यु-१९ विश्वकप जितेको थियो जसले यसै महिना भारतीय क्रिकेटबाट सन्यास घोषणा गर्दै अमेरिकामा क्रिकेटको भविष्य खोज्ने निर्णय लिएका थिए। चन्दले दिल्ली डेयरडेभिल्स, राजस्थान रोयल्स र मुम्बई इन्डीएन्स गरि तिन वटा आईपीएल टिमको समेत प्रतिनिधित्व गरेका थिए।

मोर्गन हिल मैदानमा सम्पन्न खेलमा सिलिकन भ्याली स्ट्राइकर्सले दिएको १४८ रनको लक्ष्य मास्टर्स ब्लास्टर्सले १९ ओभरमा ३ विकेट क्षेतीमा पुरा गर्यो। ओपनर निसर्ग पटेल ४ रन र कनिस्क चौगाईं ८ रन बनाएर आउट भएपछि तेश्रो विकेटको लागि कोडी चेट्टी र पृथु बास्कोटाले तेश्रो विकेटको लागि ९८ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। १८ औं ओभरमा आउट हुनु अघि चेट्टीले ७५ रन बनाए। अविजित रहेका पृथुले प्रतियोगिताकै व्यक्तिगत सर्वाधिक स्कोर बनाउने क्रममा अविजित ४५ रन बनाए जुन क्रममा ४१ बलमा २ चौका र २ छक्का प्रहार गरे।


खेलमा अर्का नेपाली क्रिकेटर देब्रे हाते स्पिनर बसन्त रेग्मीले पनि राम्रो बलिंग प्रदर्शन गरे। रेग्मीले ६१ रन बनाएका उन्मुक्त चन्दलाई स्टम्प आउट गर्दै महत्वपूर्ण विकेट दिलाए। चन्दले ५४ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए। रेग्मीले स्पेलको अन्तिम ओभर तथा इनिंग्सको १७ औं ओभरमा चन्दको विकेट लिएका थिए। अघि बढेर खेल्न खोजेका चन्द रेग्मीको बल घुम्दा सहजै स्टम्प हुन पुगेका थिए। ४ ओभरमा स्पेलमा रेग्मीले मात्र २० रन खर्चिए।

आजै बिहान सम्पन्न दोश्रो खेलमा हलिवुड मास्टर्स ब्लास्टर्सले लगातार दोश्रो जित दर्ता गर्ने क्रममा इस्ट बे ब्लेजर्सलाई ( डीएल मेथड ) मा पराजित गर्यो। ब्लेजर्सले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा मास्टर्स ब्लास्टर्सले १४ ओभरमा २ विकेट क्षेतीमा ८८ रन बनाएको अवस्थामा खराब प्रकाशले खेल रोकिएको थियो। त्यसपछि डीएल मेथडमा ब्लास्टर्सलाई विजेता घोषित गरिएको थियो। खेलमा पृथु बास्कोटाले अविजित २ रन बनाएका थिए भने बलिंगमा बसन्त रेग्मीले २ ओभरमा २५ रन खर्चेर विकेटविहिन रहे। कनिस्क चौगाईंले ९ रन मात्र बनाउन सके।

लिगमा पृथु बास्कोटाले खेलेको ६ खेलमा १३५ रन बनाएका छन् भने बसन्त रेग्मीले ६ खेलमा ४ विकेट लिएका छन्। विकेटकम लिएका रेग्मी किफायती बलिंग भने प्राय खेलमा गरिरहेका छन्।

अमेरिका क्रिकेट बोर्डले आयोजना गरेको लिगमा अमेरिकाका २७ शहरको प्रतिनिधित्व गर्ने फ़्रेन्चाइज्हरु रहेका छन्। ३१ जुलाईमा सुरु भएको लिग अक्टोबर ३ तारिखसम्म संचालन हुनेछ। यसै प्रतियोगिताको प्रदर्शनको आधारमा अमेरिकाले राष्ट्रिय टिमको छनोट समेत गर्नेछ। लिगमा पूर्व न्युजिल्यान्ड क्रिकेटर कोरे एण्डरसन वेस्टइन्डिज क्रिकेटर रखिम कर्न वाल , पूर्व पाकिस्तान क्रिकेटर सामी असलम पूर्व श्रीलंकन क्रिकेटर शेहान जयसुरिया जस्ता खेलाडीहरु सहभागी रहेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy