रिजवानको कीर्तिमानी इनिंगमा पाकिस्तानको जित

२०७७ पुष ७, मंगलवार १६:१०

पाकिस्तानको न्युजिल्यान्ड भ्रमण अन्तर्गत तेश्रो तथा अन्तिम टि-२० मा भ्रमण टोलिले ४ विकेटको जित दर्ता गरेको छ। हारको बाबजुद अघिल्लो २ खेलमा जित पारेको न्युजिल्यान्डले सिरिज २-१ ले जित्यो।

म्याकलिन पार्क, नेपीयरमा सम्पन्न खेलमा न्युजिल्यान्डले दिएको १७४ रनको लक्ष्य भ्रमण टोलिले २ बल बाँकी रहंदा ६ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा पाकिस्तान ओपनर मोहम्मद रिजवान र हैदर अलिले ४० रनको ओपनिंग साझेदारी गरे। छैठौ ओभरमा अलिलाई स्कट कगलाइनले क्याच आउट गराए। दोश्रो विकेटको लागि रिजवानले मोहम्मद हफिजसग ७२ रनको साझेदारी गरे। २९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ४१ रन बनाएका हफिजलाई १४ औं ओभरमा कगलाइनले दोश्रो शिकार बनाए।

त्यसपछि पनि रिजवानले एक किनार सम्हालीरहे। खुस्दिल शाह १३ रन बनाएर १७ औ ओभरमा आउट भए।

अन्तिम २ ओभरमा जित्न मात्र ११ रन आवस्यक रहंदा टिम साउदीले १९ औं ओभरमा मात्र ७ रन खर्चेर फहीम अश्रफ र शदाब खानलाई लगातार बलमा पेभेलियन फर्काउदै न्युजिल्यान्डको आशा कायमै राखे।

अन्तिम ओभरमा जित्न मात्र ४ रन आवस्यक रहंदा कायल जेमीसनले दोश्रो बलमा रिजवानलाई क्याच आउट गराउदै खेलमा रोमान्चकता ल्याए। २६ औं खेल खेल्ने क्रममा पहिलो टि-२० अन्तर्राष्ट्रिय अर्धशतक बनाएका रिजवानले ५९ बलमा १० चौका र ३ छक्का मद्दतले ८९ रन बनाए। रिजवानको स्कोर टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा लक्ष्य पछ्याउने क्रममा विकेटकिपर ब्याट्सम्यानले बनाएको सर्वाधिक स्कोर हो। यस अघि यो रेकर्ड अघिल्लो सिरिजकै अघिल्लो खेलमा न्युजिल्यान्डका टिम सेफर्टले अविजित ८४ रन बनाउदै बनाएका थिए।

रिजवानको विकेटपछि क्रिजम आएका इफ्तिखार एहमदले ओभरको चौथो बलमा छक्का हिर्काउदै पाकिस्तानलाई जित दिलाए।

न्युजिल्यान्डको बलिंगमा टिम साउदी ( ४-०-२५-२ ) र स्कट कगलाइन ( ४-०-४०-२ ) ले समान २ विकेट लिए भने कायल जेमीसन ( २.४-०-२-१ ) र जेम्स निशम ( ४-०-३७-१ ) ले समान १ विकेट लिए।

यस अघि खेलमा टस हारेर ब्याटिंग रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७३ रन बनाएको थियो।

न्युजिल्यान्डको लागि ओपनर मार्टिन गुप्टिल र टिम सेफर्टले ४० रनको ओपनिंग साझेदारी गरे। गुप्टिल १९ रन बनाएर पाँचौ ओभरमा हरिश रौफबाट क्याच आउट भए। त्यसपछि फहीम अश्रफले ३५ रन बनाएका सेफर्टलाई तथा आठौँ ओभरमा १ रन बनाएका कप्तान केन विलियमसनलाई बोल्ड गर्दै पेभेलियन फर्काए।

५८/३ को अवस्थाबाट दबाबमा रहेको न्युजिल्यान्डलाई डेभोन कनवेले एक किनार सम्हाल्दै अघि बढाए। उनले ग्लेन फिलिप्ससंग ५१ रनको साझेदारी गरे। १५ औं ओभरमा फिलिप्सलाइ शाहिन अफ्रिदीले क्याच आउट गराए।

त्यसपछि अर्को किनारमा विकेट गुमेता पनि कनवेले अन्तिम ओभरसम्म ब्याटिंग गरे। त्यस बीचमा जेम्स निशम २ तथा स्कट कग्लाईन १४ रन बनाएर आउट भए।

४५ बलमा ७ चौका र १ छक्का मद्दतले ६३ रन बनाएका कनवेलाई अन्तिम ओभरमा हरिस रौफले क्याच आउट गराए। छैठौं टि-२० अन्तर्राष्ट्रिय खेल्ने क्रममा कनवेको यो दोश्रो अर्धशतक हो।

पाकिस्तानको बलिंगमा दायाँ हाते पेसर फहीम अश्रफले सर्वाधिक ३ ( ४-०-२०-३ ) विकेट लिए भने शाहिन अफ्रिदी ( ४-०-४३-२ ) र हरिश रौफले २ विकेट ( ४-०-४४-२ ) लिए।

दुई देश बीच डिसेम्बर २६ देखि बे ओभलमा दुई वटा टेस्टको सिरिज सुरु हुनेछ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy