रुपाकोट क्लब गुल्मीलाई राइज एजुकेसन कप क्रिकेटको उपाधि

२०७७ पुष १४, मंगलवार १६:५२

राइज एजुकेसन कप क्रिकेट २०२० (  Rise Education Cricket Cup-2020 )  को उपाधि आयोजक रुपाकोट क्रिकेट क्लब, गुल्मीले जितेकोछ। फेँदी क्रिकेट टीम, मुसिकोट गुल्मीलाई ४ विकेटले पराजित गर्दै आयोजक रुपाकोटले बेसक्याम्प रेस्टुरेन्ट, फिनल्यान्ड ट्रफी उचाल्दै नगद पचास हजार हात पारेको हो।

९२ रनको लक्ष्य पछ्याउने क्रममा रुपाकोटका सन्दीप क्षेत्रीको ३१ रन महत्वपुर्ण रहेको थियो। १७ बलको सामना गरेका सन्दीपले २ चौका र ३ छक्काको मद्दतमा उक्त स्कोर बनाएका थिए। उनलाई साथ दिदै याम क्षेत्रीले १० बलमा ३ छक्का हान्दै २० रनको अविजित पारी खेले भने लुम्बिनी प्रदेशका क्याप्टेन समेत रहेका कृष्ण कार्कीले अविजित १३ रन बनाए । त्यसैगरी बिमल भन्डारीको ब्याटबाट १२ बलमा २ छक्का सहित १६ रन आएको थियो।

बलिङमा राजु थापाले ४ ओभरमा २३ रन दिदै ३ विकेट लिएका थिए भने मनोज खड्का, सन्देश खड्का र कमल रिजालको नाममा १/१ विकेट रह्यो।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको फेँदीको टीमले निर्धारित १६ ओभरमा ९२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

फेँदीको लागि अनिस जिसिले २८ बलको सामना गर्दै ३ चौका र ३ छक्काको मद्दतमा ३५ रन बनाएका थिए । त्यसैगरी रमेश बस्नेत र सन्देश खड्काले क्रमशः १४ र १० रन बनाउदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। पहिलो र दोस्रो विकेटको रुपमा सचिन अधिकारी र दीपक कुँवरलाई राजेश रानाले शुन्यमा पेभेलियन फर्काए पछि फेँदी दवाबमा आएको थियो।

रुपाकोटका लागि म्यान अफ द म्याच श्याम खरेल ”बुमराह ” ले आफ्नो ३ ओभरको स्पेलमा ८ रन दिदै ४ विकेट लिएका थिए।

फेँदी, मुसिकोटको टीममा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने केहि खेलाडी पनि थिए भने रुपाकोट B मा लुम्बिनी प्रदेशबाट खेल्ने खेलाडी पनि सम्मिलित थिए।

यो संगै फेँदीले पच्चिस हजार नगद सहित प्रेसिडेन्ट ग्रुप अफ होटल ट्रफी , मेडल र प्रमाणपत्र हात पारेकोछ।

त्यसैगरी तेस्रो स्थानको लागि भएको खेलमा सत्यवती गापा क्लब, जुनिया र आयोजक रुपाकोट C बीच प्रतिस्पर्धा भएको थियो। जसमा जुनिया टीमका क्याप्टेन दिपेस सेनको अलराउण्ड प्रदर्शनमा जुनियाले ५ विकेटको जित हासील गरेकोछ । उसले पन्ध्र हजार नगद र सिद्दबाबा निर्माण सेवा ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेकोछ।

८३ रनको लक्ष्य पछ्याउने क्रममा दिपेश सेनले १५ बलको सामना गर्दै ६ छक्काको मद्दतमा अविजित ३७ रन बनाएका थिए। पहिलो विकेटको लागि ४० रनको साझेदारी गरेका तुफान रानाले र सुनिल केसिले क्रमशः २७ र १० रन बनाए भने अन्य खेलाडी शुन्य रनमा आउट भएका थिए। खेलमा रुपाकोटको C का बलर अर्जुन पौडेलले एकै ओभरमा ३ विकेट लिएर दबाब दिने कोशिश गरेपनि दिपेस सेनले कप्तानी खेल खेलेका थिए।

त्यस अघि टस जितेर पहिले ब्याटिङ गरेको रुपाकोट C ले बिबेक भन्डारीद्वारा १८ बलमा ४ छक्का सहित बनाएको २९ रन तथा राजेश न्यौपाने र अर्जुन पौडेलको क्रमशः १२ र १४ रनको मद्दतमा ९ विकेट गुमाउदै ८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। रुपाकोटलाई सस्तोमा समेट्ने क्रममा दिपेस सेन एक्लैले ५ तथा हिमाल बुढाथोकी तथा तुफान रानाले २/२ विकेट बाडेका थिए।

खेलमा ६ छक्का सहित १५ बलमा ३७ रन हान्दै ३ ओभर बलिङ गरी ४ रन दिएर ५ विकेट लिएका दिपेस सेन म्यान अफ द म्याच भए।

गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ , रुपन्देही, पोखरा तथा दाङका खेलाडी सम्मिलित बिभिन्न २० टीमको सहभागिता रहेको प्रतियोगिता रुपाकोट क्रिकेट क्लबको आयोजनामा रुपाकोट खेल मैदान , रुपाकोट, गुल्मीमा खेलाइएको थियो। क्लब अध्यक्ष प्रज्वल भन्डारीका अनुसार म्यान अफ सिरिज बिबेक भन्डारी भएकाछन भने बेस्ट बलर र ब्याट्स्म्यान क्रमशः बिष्णु कटरिया र सन्दीप क्षेत्री हुँदा इमर्जिङ प्लेयर अवार्ड राजेश न्यौपानेले हात पारेका थिए। विजेताहरुलाई नगद पुरस्कार , मेडल तथा प्रमाणपत्रले सम्मान गरिएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy