- विकेटनेपाल, ३१ असार – सप्तरी
अन्तिम बलमा ५ रन आवस्यक रहंदा रोबिन सिंहले छक्का प्रहार गर्दै चमत्कारिक जित दिलाएपछि तिलाठी कोइलाडीलाई बोदे बर्साइनले ५ विकेटले पराजित गरेको छ।
मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत चौथो खेलमा टस जितेर ब्याटिंग गर्दै तिलाठी कोइलाडीले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम ओभरमा बोदे बर्साइनलाई खेल जित्न ७ रन आवस्यक थियो। अन्तिम ओभर बलिङ्ग गर्दै थिए रासिद खान जसको ओभरको पहिलो बलमा श्रवन यादब रन आउट हुँदा ५ बलमा जित्न ७ रन बाँकी थियो। त्यसपछि राशिदले लगातार २ बलमा रन दिएनन् भने त्यसपछि चौथो र पाँचौ बलमा १/१ रन बाईको रुपमा रासिदले खर्चिंदा अन्तिम बलमा जितको लागि ५ रन चाहिएको अवस्थामा बोदे बर्साइन पुग्यो।अन्तिम बलमा स्ट्राईकमा थिए रोबिन सिंह जसले रासिदको लेन्थ बललाई अगाडी बढेर डिप-मिड विकेटको माथिबाट छक्का प्रहार गर्दै अपत्यारिलो जित दिलाएका थिए।
पहिले ब्याटिंग गर्ने क्रममा तिलाठी कोइलाडीका कप्तान मेहबुब आलमले आक्रामक ब्याटिंग गर्दै ७६ रन बनाएका थिए जुन क्रममा मात्र ४८ बलमा ८ छक्का र ५ चौका प्रहार गरे। यस्तै राहुल मण्डलले २६ रन तथा राशिद खानले १६ रन योगदान दिए। ओपनिङ्ग ब्याटिंग गरेका मेहबुब र राहुलले पहिलो विकेटको लागि १४.३ ओभरमा ११० रनको साझेदारी गरेका थिए। तिलाठीले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो। बोदे बर्साइनका बलर नन्दन झाले ३ तथा सन्दिप ढुंगानाले २ विकेट हात पारे।
बोदे बर्साइनले २० ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्यो र ५ विकेटको जित दर्ता गर्यो। उसको लागि ओपनिङ्ग ब्याटिंग गरेका सन्दिप ढुंगानाले ४० रन, अंकित सुबेदीले ४५ रन तथा सिद्धान्त लोहनीले ४४ रन बनाए। सन्दिपले ३० बलमा ४ चौका र २ छक्का, अंकितले ३८ बलमा ४ चौका र २ छक्का तथा सिद्धान्तले ३५ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

खेलको म्यान अफ द म्याच सिद्धान्त लोहनी र अंकित सुबेदी संयुक्त रुपमा घोषित भए जसले रु. १ हजार ५०० प्राप्त गरे। बिजेता खेलाडहरु लाई राजविराज नगरपालिकाका प्रशाशकिय अधिकृत चन्द्र बहादुर कार्कीले पुरस्कार प्रदान गर्नुभयो।
प्रतियोगितामा तिलाठी कोइलाडीले ३ खेलमा लगातार तेश्रो हार बेहोरेको छ जसपछि फाईनल पुग्ने सम्भावना सकिएको छ भने बोदे बर्साइन र खडक वारियर्स फाईनल पुग्ने पक्का भएको छ। ३ खेल खेलेको बोदेले २ जित र १ हार बेहोरेको छ भने २ खेल खेलेको बजाज खडक वारियर्सले दुवै जित हात पारेको छ।
सप्तरी क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको पाँचौ खेलमा सोमबार बोदे बर्साइन थन्डर्स र बजाज खडक वरियर्स प्रतिस्पर्धा गर्नेछन्।
