रोहन मुस्तफा सहित ३ युएई खेलाडी निलम्वित, नेपालसंग खेल्न नपाउने

  • विकेटनेपाल, पौष-५ , बिहिबार 

सामाजिक संजालमा आलोचनात्मक कमेन्ट गरेपछि युएई क्रिकेट बोर्डले आफ्नो ३ जना राष्ट्रिय क्रिकेटरहरुलाई कारबाही गरेको छ।

हाल नेपालमा एभरेस्ट प्रिमियर लिग खेलीरहेका युएई टिमका कप्तान रोहन मुस्तफा सहित, एहमद राजा र रामिज शाहजादलाई बोर्डले ८ हफ्ताको लागि निलम्बन गरेको छ।

८ हफ्ते निलम्बनका कारण युएईले नेपालसंग जनवरीमा खेल्ने सिरिजमा मुस्तफा सहित ३ खेलाडीहरु खेल्न पाउने छैनन्। रोहन इपीएलमा काठमाडौँ किंग्स-११ को कप्तानी गरिरहेका छन्।

के भएको थियो ? 

पाकिस्तान र श्रीलंकामा यसै महिना सम्पन्न एसीसी इमर्जिङ्ग टिम्स कपमा युएई सेमी फाइनल पुग्ने प्रबल दाबेदार थियो। तर लिग चरणमा हंगकंगसंगको खेल वर्षाको कारण सम्भव नहुँदा युएई सेमीफाइनल खेल्न छनौट हुने सम्भावना सकिएको थियो।

कराँचीमा भएको खेलमा पानि परेपछि ढाकिएको पिचको कभरनै प्वाल परेको थियो जसबाट पानि छिर्दा पानि रोकिएपछि पनि पिच नसुक्दा युएई सपना चकनाचुर भएको थियो। खेल नतिजाविहिन सकिंदा खेलाडीहरुले सामाजिक संजालमा आफ्नो निराशा ब्यक्त गरेका थिए।

खेल पछि कप्तान मुस्तफाले ट्विटरमा लेखेका थिए – “हामि मैदानको फितलो कमजोर सुबिधाको कारण बाहिरिनु पर्दा निकै दुखित छु।” यस्तै अर्का निलम्बित खेलाडी राजाले लेखेका थिए – “क्लब क्रिकेट खेल्ने कभर कथित टेस्ट राष्ट्रमा प्रयोग” भनेर लेखेका थिए। अर्का खेलाडी रामिजले लेखेका थिए “सुरक्षाको कुरामा चित्तदुखाई छैन तर अन्तर्राष्ट्रियले क्रिकेट को यो भाग ( पाकिस्तान ) लाई बेवास्था गर्नुमा अरु कारणहरु पनि छ”

ट्विटरमा आलोचना गरेपछि सबै खेलाडीहरुले केहि समयमानै आफ्नो भनाई डिलेट गर्दै माफी मागेका थिए। मुस्तफाले डिलेट गरेपछि माफी माग्दै लेखेका थिए “आफ्नो निराशाजनक ट्वीटको लागि कप्तानको रुपमा म सबै पाकिस्तानीसंग माफी माग्छु”। अन्य २ खेलाडीहरुले पनि ट्वीट हटाउदै सोहि खालको ट्वीट राखेका छन्।

नेपालले युएईसंग जनवरीमा एकदिवसीय सिरिज खेल्दैछ जसमा अब नेपालीहरु माझ चर्चित खेलाडी रोहन मुस्तफा खेल्ने छैनन्। सिरिज अन्तर्गत कति वटा एकदिवसीय खेल्ने लगायत कुराको अन्तिम निर्णय हुन बाँकी रहेको छ।

नेपाल र युएई बीच अगस्टमा मलेसियामा सम्पन्न एसिया कप छनौट प्रतियोगितामा पहिलो पटक एकदिवसीय मान्यता प्राप्त खेल खेलेका थिए। त्यस खेल ४०३४ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल थियो जसमा नेपाललाई युएईले ७८ रनले पराजित गरेको थियो। एकदिवसीय मान्यता प्राप्त भए पनि नेपाल र युएईलाई पछि पार्दै हंगकंग एसिया कप खेल्न छनौट भएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy