रोहित र राहुलको राम्रो सुरुवात, टेस्ट सन्तुलनमा ल्याउने भारतको प्रयास

भारत र इंग्ल्यान्ड बिच चौथो टेस्टको दोश्रो दिनको समाप्तिमा पहिलो इनिंग्समा ९९ रनले पछि परेको भारतले दोश्रो इनिंग्समा राम्रो सुरुवात गरेको छ।

टेस्टको पहिलो इनिंग्समा १९१ रनमै भारतलाई समेटेपछि इंग्ल्यान्डले २९० रन बनाउदै ९९ रनको अग्रता पाएको थियो। दिनको अन्तिम सेसनमा १६ ओभर ब्याटिंग गरेको भारतले विकेट नगुमाई ४३ रन बनाएको छ। भारत अझै ५६ रनले पछि रहेको छ। दिनको समाप्तिमा क्रिजमा रोहित शर्मा ५६ बलमा २ चौका मद्दतले २० रन तथा केएल राहुल ४१ बलमा ४ चौका मद्दतले २२ रन बनाएर अविजित रहेका छन्।

यस अघि पहिलो दिनको समाप्तिमा ५३/३ को अवस्थाबाट दोश्रो दिन सुरुवात गरेको इंग्ल्यान्डले ८४ ओभरमा सबै विकेट गुमाएर २९० रन बनाएको थियो।

दिनको सुरुवात गरेको इंग्ल्यान्डले पहिलो सेसनमा थप २ विकेट गुमाउन पुग्यो। १ रन बनाएका क्रेग ओभरटन र ३१ रन बनाएका डेबिड मलानलाई उमेश यादवले क्याच आउट गरे। ६२ रनमा ५ विकेट गुमाएको अवस्थाबाट ओली पोपले जोनी बेयरस्टोसंग ८९ रनकको साझेदारी गरे। ३७ रन बनाएका बेयरस्टोलाई मोहम्मद सिराजले एलबिडब्लु गरे। त्यसपछि पोपले मोईन अलिसंग ७१ रनको साझेदारी गरे। ३५ रन बनाएका अलिलाई रभिन्द्र जडेजाले क्याच आउट गरे। १५९ बलमा ६ चौका मद्दतले ८१ रन बनाएका पोपलाई ठाकुरले एलबिडब्लु पारे।

पोपको विकेट पछि क्रिस वोक्सले एक किनार सम्हाल्दै अग्रता लम्ब्याए। उनले अन्तिम विकेटको लागि जेम्स एण्डरसनसंग ३५ रनको साझेदारी गरे। ६० बलमा ११ चौका मद्दतले ५० रन बनाएपछि वोक्स रन आउट हुन पुगे।


भारतको बलिंगमा उमेश यादवले सर्वाधिक ३ विकेट ( १९-२-७६-३ ) लिए भने जस्प्रित बुम्राह ( २१-६-६७-२ ) र रभिन्द्र जडेजा ( १७-१-३६-२ ) ले समान २ विकेट लिए। शार्दुल ठाकुर र मोहम्मद सिराजले समान १ विकेट लिए।

टेस्टको पहिलो इनींगमा टस हारेर ब्याटिंग गरेको भारतले १९१ रन बनाएको थियो। उसको लागि शार्दुल ठाकुरले ५७ तथा कप्तान बिराट कोहलीले ५० रन बनाएका थिए। इंग्ल्यान्ड बलर क्रिस वोक्सले ४ तथा ओली रोबिन्सनले ३ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोश्रो खेलमा भारतले १५१ रनले जितेको थियो। तेश्रो खेल इंग्ल्यान्डले इनिंग्स र ७६ रनले जित्दै सिरिज बराबरी गरेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy