रोहित आबद्ध टोरोन्टो फाइनलमा

२०८१ श्रावण २७, आईतवार ०८:४५

क्यानडामा भईरहेको ग्लोबल टि ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स फाइनल प्रवेश गरेको छ ।

शनिबार बेलुका भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वुल्भ्सलाई ५ विकेटले पराजित गर्दै टोरोन्टो फाइनल प्रवेश गरेको हो । दोस्रो क्वालिफायर खेलमा पनि रोहित भने बेन्चमा नै रहेका थिए ।

बंग्ला टाइगर्सले सुपर ओभर खेल्न नमाने पछि टोरोन्टो दोस्रो क्वालिफायका लागि छनोट भएको थियो ।

वर्षाका कारण इलिमिनेटर खेल हुन नसके पछि सुपर ओभरबाट निर्णय लिने लिगको नियम रहेको थियो । तर, बंग्लाले सुपर ओभर खेल्न अस्विकार गरे पछि टोरोन्टो दोस्रो क्वालिफायरका लागि छनोट भएको थियो ।

वुल्भ्सले दिएको १ सय ४२ रनको लक्ष्य टोरोन्टोले १८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

टोरोन्टोका लागि ओपनर तथा कप्तान कोलिन मुनरोले २० बलमा सर्वाधिक ३६,मोहम्मद नवाजले अविजित २४ तथा ओपनर उन्मुक्त चन्दले १९ रन जोडे । वुल्भ्सका लागि अखिल कुमारले ३ तथा एन्ट्रु टाय र बेउ वेबस्टारले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वुल्भ्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन जोडेको थियो । वुल्भ्सका लागि निक हबसनले ३४ बलमा अविजित रहँदै सर्वाधिक ५१ रन जोडे । जर्ज मुन्सेले २६, ज्याक जार्बिसले २० तथा कप्तान डेबिड वार्नरले १३ रन जोडे ।

टोरोन्टोका लागि रोमारियो शेफर्डले ४ तथा जितेन्द्रपाल माथरुले २ विकेट लिए । फाइनल खेलमा टोरोन्टोले साबिक विजेता मोन्ट्रियल टाइगर्सको सामना गर्नेछ । फाइनल खेल आइतबार बेलुका हुदैछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy