सिरिज क्लिन स्विप पछि के भन्छन् कप्तान रोहित

२०७९ फाल्गुन ९, मंगलवार २०:१०

स्कटल्याण्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक शृङ्खला स्वीप गरेपछि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले अभ्यस्त पिचबाट नेपाली टोलीले सफलता निकालेको बताएका छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न शृङ्खलाकाे अन्तिम खेलमा नेपालले च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जितपछि कप्तान पौडेलले घरेलु मैदानमा गरेको अभ्यासले सफलता मिलेको बताए ।

नेपाललाई रोमाञ्चक जित दिलाउनुभएका रोहितले जितपछि आफूलाई निकै राहत मिलेको बताए । यही शृङ्खला क्लिन स्विप भएपछिको पत्रकार सम्मेलनमा कप्तान रोहितले अभ्यस्त मैदानमा सफलता मिलेको बताएका हुन् उनले यूएईमा हुन लागेको अर्को शृङ्खलामा पनि यसै लयलाई निरन्तरता दिने लक्ष्य लिएको बताए। दुबईमा हुने शृङ्खलाका लागि खेलाडीको विषयलमा छलफल भइरहेको जानकारी दिए ।

नयाँ प्रशिक्षकको नियुक्त भएसँगै ब्याटिङ सुधारमा केन्द्रित भएको टोलीले सम्पन्न शृङ्खलाबाट सुधारको संकेत दिएको छ। यसै शृङ्खलामा नेपाली खेलाडीको व्यक्तिगत तथ्याङ्कमा उल्लेख्य सुधार आएको छ भने नेपालले सर्वाधिक रनको लक्ष्यलाई पनि पछ्याउँदै कीर्तिमान रच्न सफल भएको छ।

शृङ्खलाको अन्तिम खेलमा सफलता निकालेपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक मोन्टी देशाईले खेलाडीलाई दिएको जिम्मेवारी सहि तरिकाले प्रयोग गर्दा सफलता मिलेको बताए। घरेलु दर्शकको उल्लासपूर्ण साथले खेलाडीले घरेलु मैदानमा पसिना बगाएर यादगार शृङ्खला बनाउँदा आफू पनि खुशी भएको प्रतिक्रिया दिए।

प्रशिक्षकको रुपमा नियुक्त भएपछि आफूले खेलाडीमा सम्भावना देखेको र उनीहरुको खुबीलाई निखार्ने प्रयास गर्दा मिलेको सफलतामा आफू खुशी भएको बताए। उनले नेपाली खेलाडी पनि प्रतिस्पर्धात्मक खेल खेल्न सक्छन् भन्ने विश्वास भएको बताए ।

Rohit Paudel ( Photo – Bikash Dware, Gorkhapatra)

मंगलबार सम्पन्न शृङ्खलाकाे अन्तिम खेलमा कप्तान पौडेल र करण केसीले ७५ रनको साझेदारी गरेपछि नेपालले विश्वकप क्रिकेट लिग–२ को च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित निकालेको हो।

अब नेपाल लिग–२ शृङ्खला अन्तर्गतको खेलका लागि नेपाल यूएई भ्रमण गर्ने तालिका छ। भ्रमणमा नेपालले यूएई र पपुवा न्युगिनीसँग शृङ्खला खेल्ने तालिका छ। लिग–२ मा नेपाल २८ खेलबाट १२ मा जित र १४ मा हारसहित २६ अङ्कका साथ छैटौं स्थानमा छ। बाँकी रहेको ८ खेलमा कम्तीमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम हुनेछ।

( साभार – गोरखापत्र )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy