- विकेटनेपाल, माघ १२ – शनिबार
न्युजिल्यान्ड भ्रमणमा रहेको भारतले दोश्रो एकदिवसीय खेलमा ९० रनको फराकिलो जित दर्ता गर्दै ५ खेलको सिरिजमा २-० को अग्रता लिएको छ।
भारतले दिएको ३२५ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको घरेलु टिम न्युजिल्यान्ड मात्र ४०.२ ओभरमा २३४ रनमा समेटियो। उसलाई सस्तैमा समेट्न भारतका कुलदीप यादवले ४ विकेट लिए। उनले १० ओभरमा ४५ रन खर्चेका थिए। त्यस्तै युज्वेन्द्र चाहालले ५२ तथा भुवनेश्वर कुमारले ४२ रन खर्चेर समान २/२ विकेट हात पारे।
न्युजिल्यान्डको लागि ब्याटिंग तर्फ डग ब्रास्वेलले ४६ बलमा ५ चौका र ३ छक्काको मद्दतममा ५७ रनको आक्रामक पारि खेलेपनि जितको लागि पर्याप्त हुन सकेन।त्यस्तै टोम लथमले ३८ तथा कोलिन मुन्द्रोले ३१ रन बनाएका थिए।
यसअघि बे ओभल मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको भारतलाई राम्रो सुरुवात दिलाउने क्रममा रोहित शर्मा र शिखर धवनले पहिलो विकेटको लागि १५४ रनको साझेदारी गरेका थिए। २६ औं ओभरमा शिखर ६६ रन बनाएर आउट भएपछि साझेदारी टुटेको थियो। धवनले ६७ बलमा ९ चौका प्रहार गरे।
रोहित शर्मा पनि ३० औं ओभरमा ८७ रन बनाएर आउट हुँदा दोश्रो विकेट गुमाएको भारतलाई तेश्रो विकेटको लागि कप्तान बिराट कोहली र अम्बाती रायडुले अघि बढाए। म्यान अफ द म्याच घोषित रोहितले ९६ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।
रायडूसंग ६४ रनको साझेदारी गरेपछि कोहली ४३ रनको ( ४५ बलमा ५ चौका ) स्कोरमा आउट भए। कोहलीको विकेट पछि रायडु ४७ रन ( ४९ बलमा ३ चौका र १ छक्का ) बनाएर आउट भए।
४५.४ ओभरमा २७१/४ रहेको भारतको योगफललाई रफ्तार दिंदै त्यसपछि धोनी र केदार जाधबले पाँचौ विकेटको लागि २६ बलमा ५३ रन बनाए। फलस्वरुप भारतले ५० ओभरमा ४ विकेट गुमाएर ३२४ रन बनायो।
धोनीले अविजित ४८ रन बनाए जुन क्रममा ३३ बलमा १ छक्का र ५ चौका प्रहार गरे। जाधबले अविजित २२ रन बनाउदा १० बलमा ३ चौका र १ छक्का प्रहार गरे।
न्युजिल्याण्डको बलिङ्गमा ट्रेन्ट बोल्ट ( १०-१-६१-२ ) र लकि फर्गुसनले ( १०-१-८१-२ ) २/२ विकेट लिए।