भोलि बुधबार देखि सुरु हुने एसिया कप २०२३ अन्तर्गत उद्घाटन खेलमा पाकिस्तानसंग खेल्नु अघि प्रि-म्याच प्रेस कन्फरेन्समा बोल्दै नेपालका कप्तान रोहित पौडेलले नेपालले प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका छन्।
“हामी पहिलो पटक एसिया कप खेल्दैछौँ जुन हाम्रो लागि ठूलो अवसर हो।” रोहितले बताए।
“पाकिस्तान राम्रो टिम हो जोसंग हामि प्रतिस्पर्धात्मक क्रिकेट खेल्न चाहन्छौं। हामि लायक छौँ त्यसैले यहाँ छौँ।”
उनले पाकिस्तान र नेपालको क्रिकेट ति बीच अनुभवमा मात्र भिन्नता भएको बताए –
“मलाई लाग्छ फरक अनुभवमा छ, स्किल हेर्ने हो भने एकै हो। अनुभव हेर्नु हुन्छ भने पाकिस्तान अनुभवी टिम हो त्यही भिन्नता छ।”
“दुवै टिममा विश्वस्तरीय ब्याटर र बलर छन्। जस्तो भएता पनि हामि ‘वान बल ब्याटलमा’ विश्वास गर्छौं र एउटा बलमा ध्यान केन्द्रित गर्न चाहन्छौँ।
उनले टिमको तयारी राम्रो भएको बताए –
“हाम्रो तयारी राम्रो भएको छ, हामीले जिम्बाब्वेमा विश्वकप छनोट खेल्यौं त्यसपछि इमर्जिंग एसिया कप खेल्यौं। हामिसंग बलर र ब्याट्सम्यानहरु विश्वस्तरीय छन्। हामी वर्तमानमा रहनुपर्छ त्यसैमा केन्द्रित हुनेछौँ।”
पाकिस्तानको आतिथ्य राम्रो भएको बताउदै उनले रिजवानसंगको नेपालमा भएको भेट सम्झिए-
“हामीले यहाँ गजबको आतिथ्य पाएका छौँ , यहाँका मानिसहरु राम्रा छन्। रिजवान नेपाल आएका थिए जुन बेला वहाँसंग कुरा भएको थियो। त्यसबेला उनले आफ्नो अनुभव बताएका थिए। क्रिकेटको ठूलो खेलाडीसंगै खेल्नु ठूलो अवसर हो।”
उनले खेल हुने मुल्तान क्रिकेट स्टेडियमको विकेट राम्रो भएको बताए-
“यो मेरो पाकिस्तानमा पहिलो अवसर हो। विकेट राम्रो छ समग्रमा। हामि आफ्नो योजना लागु गर्न चाहन्छौं र आशा छ राम्रो खेल्नेछौँ।”
नेपाली दर्शकहरुलाई सम्झिदै यो सबैको लागि ठूलो अवसर रहेको बताए –
“हामीसंग नेपाली दर्शकहरुले धेरै अपेक्षा राखेका छन्, सबैको सपना थियो एसिया कप खेलोस भन्ने। हामि २ दशक भन्दा अगाडी देखि खेल्दै आएका छौँ र यो ठूलो मंचमा खेल्नु हामी सबैको लागि ठूलो अवसर हो।”