- विकेटनेपाल, माघ १२ , शनिवार
नेपाली खेलाडी रोहित पौडेलले युएईसंग अर्धशतक बनाउदै शहिद अफ्रिदी र सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन्।
युएईसंग जारि एकदिवसीय सिरिज अन्तर्गत दोश्रो खेलमा नेपालले पहिले ब्याटिंग गर्ने क्रममा रोहितले अर्धशतक बनाएका हुन्। सातौँ नम्बरमा ब्याटिंग गर्ने क्रममा रोहितले ५५ रन बनाएका थिए जुन क्रममा ५८ बलमा ७ चौका प्रहार गरे।
रोहित अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छा खेलाडी बनेका छन्। यस क्रममा उनले सचिन तेन्दुलकर र शाहिद अफ्रिदीलाई पछाडी छाडेका हुन्। सचिनले टेस्ट क्रिकेटमा र शाहिडले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहित भन्दा अघि कान्छो उमेरमा अर्धशतक पुरा गर्ने रेकर्ड बनाएका थिए।

अफ्रिदीले सन् १९९६ मा श्रीलंका बिरुद्ध आफ्नो एकदिवसीय अन्तर्राष्ट्रियको डेब्युमा ३७ बलमा शतक बनाउदै कान्छो खेलाडी बनेका थिए। त्यस क्रममा अफ्रिदीको उमेर १६ वर्ष २१७ दिन थियो।
यस्तै सचिन तेन्दुलकरले सन् १९८९ मा पाकिस्तान बिरुद्धको टेस्ट मा ५९ रन बनाउने क्रममा टेस्ट क्रिकेटमा कान्छो उमेरमा अर्धशतक प्रहार गर्ने रेकर्ड बनाएका थिए। सचिनको त्यति बेला उमेर १६ वर्ष २१३ दिन थियो।
रोहित पौडेलले आज अर्धशतक प्रहार गर्दा उनको उमेर १६ वर्ष १४६ दिन रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने रेकर्डमा सचिनलाई रोहितले २१३ दिनले तथा अफ्रिदीलाई ७१ दिनले पछि पारेका हुन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आफ्नो फेसबुक/ट्वीटरमा पोस्ट गर्दै रोहित अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छो खेलाडी भएको पुस्टि गरेको छ।
At the age of just 16 years and 146 days, Nepal’s Rohit Paudel today became the youngest man to hit an international half-century, beating the likes of @sachin_rt and @SAfridiOfficial! ?? ?
➡️ https://t.co/lRo5UTfuFd pic.twitter.com/qsqZQDYX5y
— ICC (@ICC) January 26, 2019
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो रेकर्ड बनाउने सुचीमा पहिलो र दोश्रो नम्बरमा रोहित र शाहिद छन् भने तेश्रो र चौथो नम्बरमा पनि शाहिद अफ्रिदीनै छन्। अफ्रिदीले १६ वर्ष २४५ दिन उमेर हुँदा जिम्बाबे बिरुद्ध र १६ वर्ष ३२३ दिन उमेर हुँदा वेस्ट इन्डिज बिरुद्ध अर्धशतक बनाएका थिए। ३ वटै इनिंग अफ्रिदीले सन् १९९६ मा खेलेका थिए।
पुरुष क्रिकेटमा रेकर्ड आफ्नो नाम गरे पनि महीला अन्तर्राष्ट्रिय क्रिकेटमा भने रोहित भन्दा निकै कान्छो उमेरमा दक्षिण अफ्रिकाकी जोमारी लक्जेमबर्गले १४ वर्षकै उमेरमा टेस्ट र एकदिवसीय अर्धशतक प्रहार गरेकी थिईन्।
ओडीआई डेब्यु गर्ने बिश्वकै चौथो कान्छा खेलाडी रोहित
रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने पनि विश्वकै चौथो कान्छा खेलाडी पनि हुन्। पौडेलले गत वर्ष नेदरल्याण्डसंग नेपालले खेलेको एकदिवसीय सिरिज अन्तर्गत दोश्रो एकदिवसीयमा नेपालको लागि डेब्यु गरेका थिए। त्यस दिन रोहितको उमेर १५ वर्ष ३३५ दिन मात्रै थियो।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बिश्वकै कम उमेरमा डेब्यु गर्ने खेलाडी पाकिस्तानका हसन राजा हुन् जसले १४ वर्ष २३३ दिन उमेर हुँदा जिम्बाबे बिरुद्ध सन् १९९६ मा डेब्यु गरेका थिए। केन्याका गुरदिप सिंहले सन् २०१३ मा अफगानिस्तान बिरुद्ध डेब्यु गर्दा १५ वर्ष २५८ दिन उमेर थियो। तेश्रो नम्बरमा क्यानडाका खेलाडी नितिश कुमार रहेका छन् जसले सन् २०१० मा अफगानिस्तानसंग डेब्यु गर्दा उनको उमेर १५ वर्ष २७३ दिन थियो।
रोहितको अर्को ३ किर्तिमान :
युएईसंग अर्धशतक प्रहार गर्ने क्रममा रोहित नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने पाँचौ नेपाली खेलाडी पनि बनेका छन्। उनि भन्दा अघि ज्ञानेन्द्र मल्ल, पारस खड्का, सोमपाल कामि र सुबास खकुरेलले अर्धशतक बनाएका छन्।

यस्तै रोहितले युएईसंग आरिफ शेखसंग छैठौं विकेटको लागि गरेको ८२ रनको साझेदारी नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि विकेटको लागि गरेको सबै भन्दा ठुलो साझेदारी हो। युएईसंग आजकै खेलमा पहिलो विकेटको लागि बिनोद भण्डारी र ज्ञानेन्द्र मल्लले गरेको ६१ रनको साझेदारीको रेकर्ड तोड्दै रोहित र आरिफले उक्त रेकर्ड बनाएका हुन्।
यस्तै रोहित सातौँ नम्बरमा ब्याटिंग गरेर अर्धशतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन्। यस अघि ज्ञानेन्द्र मल्ल र सुबास खकुरेलले ओपनिङ्ग गर्दै, पारस खड्काले चौथो नम्बरमा तथा सोमपाल कामिले आठौँ नम्बरमा ब्याटिंग गर्दै अर्धशतक बनाएका थिए।
को हुन् रोहित पौडेल ?
रोहित पौडेल अन्डर-१९ समुहबाट उदाएका खेलाडी हुन्। सन् २०१६ को अन्डर-१९ एसिया कपका लागि खेलाडी छनोट गर्न आयोजित ट्यालेन्ट हन्टबाट अन्डर-१९ राष्ट्रिय टिम हुँदै राष्ट्रिय टिमसम्मको यात्रा गरेका हुन्।

२०१७ को एभरेष्ट प्रिमियर लिगमा समेत उत्कृस्ट ब्याटिंग गरेका रोहितले त्यसकै बलमा रास्ट्रिय टोलिसम्मको बाटो निर्धारण गरेका थिए। एभरेस्ट प्रिमियर लिगमा दायाँ हाते ब्याट्सम्यान पौडेलले ललितपुर प्याट्रिएट्ससंगको लिग चरणको खेलमा मेहबुब आलमको एकै ओभरमा १८ रन ( ३ चौका, १ छक्का ) प्रहार गर्दै टिमलाई अप्रत्यासित जित दिलाएका थिए। त्यसक्रममा उनले ११ बल ३१ रन बनाएका थिए। यस्तै ललितपुरसंगकै क्वालिफायर खेलमा रोहितले अन्तिम ओभरमा १३ रन जितको लागि आवस्यक हुँदा लगातार पहिलो ३ बलमा २ छक्का र १ रन लिंदै खेल जिताएका थिए।
सन् २०१६ को अन्डर १९ एसिया कपमा भारत बिरुद्ध उनले आक्रामक ब्याटिंग गर्दै रोहितले ६८ रन जोडेका थिए। त्यस खेलमा रोहितले भारतीय बलर कमलेश नगरकोटीको अन्तिम ओभरमा २ छक्का र ३ चौका प्रहार गर्दै २४ रन हिर्काएका थिए। यस्तै मलेसियामा सम्पन्न यु-१९ एसिया कप २०१७ को बंगलादेशसंगको खेलमा रोहितले ४० रन ( ५४ बल, २ चौका र २ छक्का ) बनाएका थिए।
रोहितले नेपालको लागि गत वर्ष नामिबियामा सम्पन्न डिभिजन-२ मा नामिबियासंग डेब्यु गरेका थिए। उनलाई त्यति बेला भारतबाट आएका ब्याटिंग कन्सल्टेन्ट सुलक्षण कुल्कर्निले डेब्यु क्याप प्रदान गरेका थिए।