श्रीकर भारतले अन्तिम बलमा छक्का प्रहार गर्दा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको छ। आईपीएलमा यो बैंगलोरको सयौं जित पनि हो।
युएईमा जारि इन्डियन प्रिमियर लिगको ५६ औं खेलमा दिल्लीले दिएको १६५ रनको लक्ष्य बैंगलोरले अन्तिम बलमा ३ विकेट गुमाएर भेटाएको हो। जितको लागि अन्तिम बलमा ५ रन आवस्यक हुँदा आभेस खानको बललाई श्रीकर भारतले लंगअनमा छक्का प्रहार गर्दै बैंगलोरलाई रोमान्चक जित दिलाए।
लक्ष्य पछ्याउने क्रममा ५५ रनमा ३ विकेट गुमाएपछि श्रीकर भारत र ग्लेन म्याक्सवेलले अविजित १११ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। भारतले ५२ बलमा ३ चौका र ४ छक्का मद्दतले ७८ तथा म्याक्सवेलले ३३ बलमा ८ चौका मद्दतले ५१ रन बनाए। एबि डीभिल्लीयर्सले २६ रन बनाए। कप्तान बिराट कोहिलीले ४ रन मात्र बनाउन सके। दिल्लीको बलिंगमा एनरिक नोर्कियाले २ तथा अक्षर पटेलले १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ५ विकेट क्षेतीमा १६४ रन बनाएको थियो। उसको लागि ओपनर पृथ्वी शले सर्वाधिक ४८, शिखर धवनले ४३, शिमरन हेटमयरले २९ तथा श्रेयस ऐयरले १८ रन बनाए। बैंगलोर बलर मोहम्मद सिराजले २ विकेट तथा युजभेन्द्र चाहल, हर्षल पटेल र ड्यानियल क्रिस्चियनले समान १ विकेट लिए।
हारपछि पनि दिल्ली लिग अंकतालिकाको शिर्ष स्थानमा २० अंक सहित यथावत रहेको छ जसले १४ खेलमा १० जित र ४ हार बेहोरेको छ। तेश्रो स्थानमा रहेको बैंगलोर १४ खेलमा ९ जित र ५ हार पछि १८ अंक सहित तेश्रो स्थानमा छ। समान १८ अंक रहेको चेन्नाई नेट रन रेटमा अघि रहँदै दोश्रो स्थानमा छ। कोलकाता १४ अंक सहित चौंथो स्थानमा छ। दिल्ली , चेन्नाई, बैंगलोर र कोलकाता प्लेअफ प्रवेश गरिसकेका छन्।
