अत्यन्त रोमान्चक खेल अन्तिम बलमा जित्दै चेन्नाईले आईपीएलको शिर्ष स्थानमा आफ्नो स्थान कायम गरेको छ। लिग अन्तर्गत २५ औं खेलमा राजस्थान रोयल्सले दिएको १५२ रनको लक्ष्य चेन्नाईले ६ विकेट गुमाएर अन्तिम बलमा भेटायो।
जितसंगै चेन्नाई ७ खेलमा ६ जित र १ हार बेहोर्दा १२ अंक सहित अंकतालिकाको शिर्ष स्थानमा रहेको छ। राजस्थान भने ६ खेलमा १ जित र ५ हार बेहोर्दै २ अंक बटुल्दा सातौँ स्थानमा रहेको छ।
राजस्थानले दिएको १५२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईको सुरुवात अत्यन्त नाजुक रह्यो। ओपनर शेन वाटसन खाता नखोली र फाफ डु प्लेसिस ७ रन बनाएर आउट भए। सुरेश रैना ४ रन र केदार जाधब १ रन बनाएर आउट हुँदा पहिलो ४ विकेट गुमाउदा चेन्नाईले ५.५ ओभरमा २४ रन मात्रै बनाएको थियो।
पाँचौ विकेटको लागि कप्तान महेन्द्र सिंह धोनी र अम्बाती रायडुले ९५ रनको साझेदारी गर्दै चेन्नाईको योगफल १०० पार गराए।
१८ औ ओभरमा रायडुलाई बेन स्टोक्सले आउट गरेपछि राजस्थान खेलमा फर्क्यो। रायडुले ४७ बलमा २ चौका र ३ छक्का मदतले ५७ रन बनाए।
रायडुको विकेटपछि १८ ओभरमा चेन्नाईको योगफल १२२/५ थियो। जितको लागि १२ बलमा ३० रन आवस्यक रह्यो।
१९ औं ओभर बलिङ्ग गर्न आएका जोफ्रा आर्चरले १२ रन खर्चिए पछि अन्तिम ओभरमा चेन्नाईलाई जित्न १८ रन आवस्यक रह्यो।
रोमान्चक अन्तिम ओभर
अन्तिम ओभरमा बलिङ्ग गर्न आए बेन स्टक्स जसको पहिलो बलमा रभिन्द्र जडेजाले छक्का प्रहार गरे। त्यस लगत्तैको बलमा जडेजाले नो बल फाले जसमा जडेजाले १ रन लिएर स्ट्राइक धोनीलाई दिए।
धोनीले दोश्रो बलमा २ रन लिए तर तेश्रो बलमा स्टोक्सले गरेको योर्करमा बोल्ड हुँदै मैदान बहिरिंदा खेलमा पुनः राजस्थान हाबी हुने देखियो। धोनीले ४३ बलमा ५८ रन बनाए जुन क्रममा २ चौका र ३ छक्का प्रहार गरे।
धोनीको विकेटपछिको बलमा नयाँ ब्याट्सम्यान मिचेल स्यान्टनरले २ रन लिए। अब जितको लागि २ बलमा चेन्नाईलाई ६ रन आवस्यक रह्यो।
चौथो बलमा स्यान्टनरले पुनः २ रन लिए जसपछि अन्तिम बलमा अब ४ रन आवस्यक रह्यो। त्यसपछि स्टोक्सले अन्तिम बलमा वाईड बल फाले जसपछि अन्तिम बलमा अब ३ रन आवस्यक रह्यो।
अन्तिम बलमा स्टोक्सले अफ साईडमा फालेको सुस्त बलमा स्यान्टनरले छक्का ! प्रहार गर्दै चेन्नाईलाई रोमान्चक जित दिलाए।
अन्तिम ओभरमा चेन्नाईले कुल २१ रन बनाउदै २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनायो र खेल ४ विकेटले जित्यो।
स्यान्टनर १० रनमा अविजित रहे जसले ३ बलमा १ छक्का प्रहार गरे भने जडेजाले ४ बलमा १ छक्का मदतले ९ रन बनाए।
राजस्थानको लागि बेन स्टोक्सले २ विकेट लिए पनि खेल भने जिताउन सकेनन्। उनले ३ ओभरमा ३९ रन खर्चिए।
राजस्थानको ब्याटिंग
खेलमा टस हारेर ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर १५१ रनको योगफल तयार गरेको थियो।
राजस्थानको इनिंगमा ब्याटिंग गरेका ९ जना मध्ये ८ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाए पनि कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन् भने ठुलो साझेदारी पनि बन्न सकेन। बेन स्टोक्सले सर्वाधिक २८ रन, जोस बटलरले २३ रन बनाए भने अन्तिममा श्रेयस गोपालले अविजित १९ ( ७ बलमा २ चौका र १ छक्का ) र जोफ्रा आर्चरले अविजित १३ रन बनाए।
चेन्नाई बलर दिपक चाहर ( ४-०-३३-२ ) , शार्दुल ठाकुर ( ४-०-४४-२ ) , रभिन्द्र जडेजा ( ४-०-२०-२ ) ले २/२ विकेट लिए भने मिचेल स्यान्टनरले १ विकेट ( ४-०-२५-१ ) लिए।