युएईमा जारि १३ औं आईपीएल अन्तर्गत १५ औं खेलमा बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोरले तेश्रो जित दर्ता गर्ने क्रममा स्टिभ स्मिथ कप्तानीको राजस्थान रोयल्सलाई ८ विकेटले सहजै पराजित गरेको छ।
टस जितेर पहिले ब्याटिंग गर्दै राजस्थानले दिएको १५५ रनको लक्ष्य बैंगलोरले मात्र २ विकेट गुमाएर १९.१ ओभरमा पुरा गर्यो।
बैंगलोरको जितमा कप्तान बिराट कोहलीले सर्वाधिक ७२ रन बनाए जुन क्रममा अविजित रहँदै ५३ बलमा ७ चौका र २ छक्का प्रहार गरे। जारि सिजन कोहलीको यो पहिलो अर्धशतक हो। यस अघि ३ खेलमा फ्लप भएका कोहलीले क्रमसः १४, १ र ३ रन बनाएका थिए। यस्तै ओपनर देभदत्त पडीक्कले ६३ रन बनाए जुन क्रममा ४५ बलमा ६ चौका र १ छक्का प्रहार गरे। पडीक्कलको यो सिजन तेश्रो अर्धशतक हो। यस अघि उनले हैदरावादबिरुद्ध ५६ तथा मुम्बई बिरुद्ध ५४ रन बनाएका थिए।
८ रन बनाएका ओपनर आरोन फिन्चलाई तेश्रो ओभरमा श्रेयस गोपालले एलबिडब्लु आउट गरे पछि पडीक्कल र कोहलीले दोश्रो विकेटको लागि ९९ रनको साझेदारी गरेका थिए। पडीक्कललाई १६ औं ओभरमा जोफ्रा आर्चरले बोल्ड गरे। त्यसपछि ए बि डी भिल्लीयर्स र कोहलीले अविजित ३४ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए। डी भिल्लीयर्सले १० बलमा १ चौका मद्दतले १२ रन बनाए।
राजस्थानको बलिंगमा श्रेयस गोपाल ( ४-०-२७-१ ) र जोफ्रा आर्चर ( ४-०-१८-१ ) ले समान १ विकेट लिए। जयदेव उनदकत ( ३-०-३१-० ) , टम करन ( ३.१-०-४०-० ) , राहुल तेवतिया ( ४-०-२८-० ) र रियान पराग ( १-०-१३-० ) विकेटविहिन रहे।
राजस्थानको ब्याटिंग
यस अघि मा टस जितेर ब्याटिंग रोजेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो।
राजस्थानको लागि सिजनको पहिलो खेल खेलीरहेका महिपाल लोमरोरले सर्वाधिक ४७ रन बनाए। ३९ बलमा उनले १ चौका र ३ छक्का हिर्काए। राहुल तेवतियाले अविजित २४, जोस बटलरले २२, रोबिन उथप्पाले १७, जोफ्रा आर्चर र रियान परागले समान १६ रन बनाए।
राजस्थानको सुरुवात अत्यन्त खराब रह्यो। पहिलो विकेटको लागि जोस बटलर र कप्तान स्मिथले २७ रनको साझेदारी गरेपछि तेश्रो ओभरमा इशुरु उडानाले स्मिथलाई ( ५ रन ) बोल्ड गर्दै सफलता दिलाए। १२ बलमा ३ चौका र १ छक्का मद्दतले २२ रन बनाएका बटलर लगत्तै ओभरमा नभदिप सैनीबाट स्लिपमा समातिए। लगत्तै ओभरमा युजभेन्द्र चहलले सन्जु स्यामसनलाई ( ४ रन ) आफैले क्याच समातेर पेभेलियन फर्काए।
३१/३ को अवस्थाबाट रोबिन उथप्पा र यो सिजन पहिलो पटक मौका पाएका महिपाल लोमरोरले ३९ रनको साझेदारी गरे। ११ औं ओभरमा चहलले २२ बलमा १७ रन बनाएका उथप्पालाई उडानाबाट लंग-अफमा क्याच आउट गराए। पाँचौ विकेटको लागि लोमरोरले रियान परागसग ३५ रनको साझेदारी गरे। १८ बलमा १६ रन बनाएर गर्ग उडानाको बलमा फिन्चबाट क्याच आउट भए।
४७ रन बनाएका महिपाललाई १७ औं ओभरमा चहलले क्याच आउट गराउदै तेश्रो शिकार बनाए। उनले ३९ बलमा १ चौका र ३ छक्का प्रहार गरे। सातौँ विकेटको लागि राहुल तेवतिया र जोफ्रा आर्चरले आक्रामक ब्याटिंग गर्दै टिमको योगफल १५० पार गराए। तेवतियाले अन्तिम ओभरमा नभदिपसैनीलाई लगातार २ छक्का हिर्काए।
तेवतियाले अविजित २४ रन बनाए जुन क्रममा १२ बलमा ३ छक्का प्रहार गरे। आर्चरले १० बलमा १ चौका र १ छक्का मद्दतले १६ रन बनाए। दुवैले २१ बलमा ४० रनको अविजित साझेदारी गरे।
बैंगलोरको बलिंगमा लेग स्पिनर युजभेन्द्र चहलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २४ रन खर्चिए। ३ विकेट लिएसंगै विकेट संख्या ८ पुर्याएर चहल मोहम्मद शामीलाई पछि पार्दै उनले पर्पल क्याप नाम गरेका छन्। ८ विकेटनै लिएता पनि शामी भन्दा चहलको एभरेज राम्रो रहेको छ।
इसुरु उडानाले २ ( ४-०-४१-२ ) तथा नभदिप सैनीले १ ( ४-१-३७-१ ) विकेट लिए। वासिंगटन सुन्दर ( ४-०-२०-० ) , एडम जाम्पा ( ३-०-२७-० ) विकेटविहिन रहे।
अंकतालिका
जित पछि ४ खेलमा ३ जित र १ हार सहित ६ अंक बटुल्दै बैंगलोर अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। राजस्थान ४४ खेलमा २ जित र २ हार पछि छैठौं स्थानमा पुगेको छ। ४ अंकनै रहेता पनि मुम्बई, दिल्ली, कोलकाता र हैदरावाद क्रमशः दोश्रो देखि पाँचौ स्थानमा रहेका छन्।
बैंगलोरले अब आगामी खेल सोमबार दिल्ली बिरुद्ध खेल्नेछ। राजस्थानले मंगलबार मुम्बई बिरुद्ध खेल्नेछ।
शनिवार दोश्रो खेलमा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गर्दैछन्। टस जितेर कोलकाताले दिल्लीलाई ब्याटिंगको निम्तो दिएको छ।
आईपीएल खेल्न युएई उडे स्टोक्स, को संग खेल्ने छन् पहिलो खेल
टि-२० क्रिकेट सुधार गर्न शेन वार्नले दिए ३ सुझाव
IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड