रुपन्देही सुपरलिग : लुम्बिनी खुकुरी विजयी

प्रकाश न्यौपाने, भैरहवा, फागुन १३

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको डिभिजन ‘ए’को खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले एमसीसी क्लबलाई २ विकेटले पराजित गरेको छ।

टस जितेर ब्याटिङमा आएको एमसीसीले निर्धारित ३९ ओभरको खेलमा ३८.३ ओभरमा सबै विकेट गुमाई १३५ रन बनायो । उसका लागि मोहिन खाँनले नटआउट ३०, विजय प्रजापतीले २२, मोहम्मद हुसेनले १४ र सुशान्त थापाले १२ रन बनाए । बलिङमा लुम्बिनी खुकुरीका अजय लोनियाले ३, लालबहादुर थापा र शंकर रानाले २/२ तथा दुर्गेश गुप्ता र साहव आलमले समान १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको लुम्बिनी खुकुरीले ३७ ओभरमा ८ विकेट गुमाई १३८ रन बनाउँदै जित निकाल्यो । उसका लागि संदीप रजालीले ४०, अन्तिम थापाले नटआउट ३३ तथा सेजाद आलम र शंकर रानाले १०/१० रन बनाए । बलिङमा एमसीसीका सन्तोष रानाले ३, रोशनलाल गुप्ताले २, मोहम्मद हुसेन, शिवकुमार मौर्य र रमेश कुर्मीले समान १/१ विकेट लिए ।

खेलमा अन्तिम थापा म्यान अफ द म्याच भए । शुक्रबार डिभिजन ‘ए’ का बुटवल राइनोज र बुटवल–११ बीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार र म्यान अफ द फाइनललाई ५ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy