रुपन्देही सुपर लिग : अजय एक्लैले ७ विकेट लिंदा लुम्बिनी खुकुरी सेमिफाइनलमा

२०७७ फाल्गुन २३, आईतवार ०७:०७

प्रकाश न्यौपाने, भैरहवा, फागुन २२

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको डिभिजन ‘ए’को खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले सैनामैना क्रिकेट क्लबलाई ११४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै लुम्बिनी खुकुरी समूह ‘डी’बाट सेमिफाइनल प्रवेश गरेको छ भने सैनामैना डिभिजन ‘बी’मा घटुवा भएको छ ।

सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४४.५ ओभरमा सबै विकेटको क्षतिमा १८० रन बनायो । उसका लागि प्रज्वल थापाले ५१, एजाज आलमले ३४ र सविन शाक्यले ३० रनको योगदान दिए । बलिङमा सैनामैनाका बसन्त खड्काले ५ ओभरमा १ मेर्डन राख्दै २३ रन खर्चेर ५ विकेट लिए । यस्तै, कृष्ण गिरी, सुनिल पौडेल, विशाल भुसाल र सरोज पौडेलले समान १/१ विकेट लिए ।

जवाफी व्याटिङ गरेको सैनामैना २५.३ ओभरमा सबै विकेट गुमाउँदै ६६ रनमै समेटियो । उसका लागि बसन्त खड्काले १८ र मनिष क्षेत्रीले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा लुम्बिनी खुकुरीका अजयकुमार लोनियाले ७.३ ओभरमा ३ मेर्डन राख्दै १३ रन खर्चेर ७ विकेट लिए । उनी म्यान अफ द म्याच समेत भए । यस्तै, अर्जुन करोसले २ तथा एजाज आलमले १ विकेट लिए ।

आइतबार डिभिजन ‘ए’ को समूह ‘बी’मा रहेका जीआर क्रिकेट क्लब र वेष्टर्न क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

https://www.youtube.com/watch?v=nTh-uOKUFLw

https://www.youtube.com/watch?v=4lpwk8-0XM8

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy