रूपन्देही सुपरलिगको उपाधि एमसिसीलाई

२०७८ चैत्र १२, शनिबार २०:४७

रूपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा सम्पन्न रूपन्देही सुपर लिगको उपाधि मेलवर्न क्रिकेट क्लब (एमसिसी)ले हात पारेको छ। शनिबार भएको फाइनल खेलमा बुद्ध क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै एमसिसीले उपाधि हात पारेको हो।

एमसिसीले उपाधिसँगै नगद ८० हजार पुरस्कार तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। विगत २५ वर्षदेखि भैरहवामा भइरहेको सुपर लिगको इतिहासमा एमसिसीले योसँगै चारपटक उपाधि जितेको छ।

प्रतियोगितामा उपविजेता बनेको बुद्ध क्रिकेट क्लबले ४० हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बुद्धले निर्धारित ५० ओभरको खेलमा ११.५ ओभरमा सबै विकेट गुमाउँदै जम्मा २८ रन मात्रै बनाएको थियो। उसका लागि अजय त्रिपाठीले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन्। उसलाई सस्तैमा रोक्न एमसिसीका रमेश कुर्मीले ५.५ ओभर बलिङ गर्दै ३ मेर्डन राखेर ७ रन खर्ची ६ विकेट लिए। यस्तै, सन्तोष यादवले ३ तथा शिवकुमार मौर्यले १ विकेट लिए।

जवाफी ब्याटिङ गरेको एमसिसीले ७ ओभरमा एक विकेटको नोक्सानीमा २९ रन बनाउँदै जित निकाल्यो। उसको जितमा सुशान्त थापाले नटआउट १५ र विजय प्रजापतिले नटआउट ८ रन जोडे। बलिङमा बुद्धका विपिन खत्रीले एक विकेट लिए।

प्रतियोगितामा एमसिसीका रमेश कुर्मी म्यान अफ द फाइनल घोषित भए।

यस्तै, एमसिसीका रोशनलाल गुप्ता म्यान अफ द सिरिज र बेष्ट बलर घोषित भए भने एमसिसीकै विजय प्रजापति बेष्ट ब्याट्सम्यान र उदयीमान खेलाडी घोषित भए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy