रुपन्देही सुपरलिग : अनिल चम्किदा वेष्टर्न १० विकेटले विजयी

प्रकाश न्यौपाने, भैरहवा, फागुन-७

रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको डिभिजन ‘बी’को खेलमा वेष्टर्न क्रिकेट क्लबले बुटवल युथलाई १० विकेटले पराजित गरेको छ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको बुटवल युथले निर्धारित ५० ओभरको खेलमा २६.१ ओभर खेल्दै सबै विकेट गुमाएर ५४ रनमै समेटियो । उसका लागि लक्ष्मण परियारले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। बलिङमा वेष्टर्नका अनिल खरेलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ६ ओभरमा ३ मेडन ओभर गर्दै १५ रन खर्चिए। यस्तै कृष्ण कार्की, सन्देश थापा र विक्रम भुसालले समान २/२ विकेट लिए।

जवाफी ब्याटिङ गरेको वेष्टर्नले कुनै क्षति विना ६ ओभरमा ५८ रन बनाउँदै जित निकाल्यो। उसको जितमा देव खनालले ३४ र भुवन पाण्डेले १७ रन बनाए। अनिल खरेल म्यान अफ द म्याच भई पुरस्कृत भए। शनिबार साई ग्लोबल क्रिकेट क्लब र लुम्बिनी शाक्यान बीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy