राष्ट्रिय महिला क्रिकेट कप्तान रुविनालाई अभिनन्दन

झापाको कनकाईमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका कप्तान रुविना क्षेत्रीलाई अभिनन्दन गरिएको छ । सामाजिक गतिविधिमा झापामा क्रियाशील रहेको सुरुङ्गा जेसीजले आफ्नो १२ औँ पद हस्तान्तरण तथा उत्कृष्ट नागरिक सम्मान कार्यक्रमका अवसरमा जेसीजसहित स्थानीय एक दर्जन बढी सामाजिक सङ्घसंस्थाबाट क्रिकेटर क्षेत्रीलाई अभिनन्दन गरिएको हो ।

झापा जिल्लालाई कर्मथलो बनाएर खेलकूद विधाको क्रिकेटबाट देशकै नाम चिनाउन सफल भएको भन्दै क्षेत्रीलाई अभिनन्दन गरिएको बताइएको छ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारीमा रहनुभएकी रुविनालाई कनकाईमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनाल, झापा क्षेत्र नं ४ का निवर्तमान सङ्घीय सांसद एलपी साँवा लिम्बू, प्रदेशसभा सदस्य हीरा थापालगायतले अभिनन्दन गर्नुभएको हो ।

झापाको मेचीनगर–१० निवासी क्षेत्रीले खेल क्षेत्रको माध्यमबाट देश विदेशमा समेत पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानस्वरूप नौमती बाजासहित अभिनन्दन गरिएको उत्कृष्ट नागरिक छनोट समितिका संयोजक सुरुङ्गा जेसीजका पूर्वअध्यक्ष जीवन तिम्सिनाले बताउनुभएको छ । छनोट समितिमा तिम्सिनासहित सुरुङ्गा जेसीजका पूर्वअध्यक्षद्वय सरला पोखरेल र भीम भट्टराई सदस्य रहेको समितिले यस वर्षको सुरुङ्गा जेसीजको उत्कृष्ट नागरिकका पमा क्रिकेटर क्षेत्रीलाई अभिनन्दन गर्ने निर्णय गरेको बताइएको छ । सुरुङ्गा जेसीजबाट पाएको यो सम्मानले खेल क्षेत्रमा थप ऊर्जा मिलेको क्रिकेटर क्षेत्रीले बताउनुभएको छ । ( रासस )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy