रुपन्देही क्रिकेट संघले ९ खेलाडीलाई मासिक ५ हजार रुपैयाँ दिने

रुपन्देही जिल्ला क्रिकेट संघले खेलाडी कल्याणकारी कोष २०८० को स्थापना गर्दै जिल्लाका ९ जना क्रिकेटरहरुलाई मासिक ५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ।

जिल्लाको सिनियर तर्फका खेलाडी कृष्ण कार्की र अनिल खरेल, अन्डर-१९ तर्फ दुर्गेश गुप्ता र देव खनाल, अन्डर-१६ तर्फ सन्तोष यादव र सागर गैरे, महिलातर्फ आशमा पुलामी मगर, कृतिका मरासिनी र सुस्मिता भुसालले मासिक ५ हजार रुपैयाँ पाउनेछन्। जिल्ला क्रिकेट संघले यस्तो घोषणा गरेको यो नै पहिलो पटक हो।

शनिवार आयोजित एक समारोहमा घोषणा गरिएको कल्याणकारी कोषबाट खेलाडीहरुलाई प्रोत्साहन गर्न आर्थिक सहायता उपलब्ध गराउने, औषधोपचार गर्ने लगायतका कार्यक्रम संचालन गरिने छ ।

कल्याणकारी कोष स्थापना गर्न संघका अध्यक्ष हरिबहादुर थापाले आफ्ना स्वर्गीय पिताको स्मृतिमा १ लाख रुपैयाँ दिने जानकारी दिए । त्यसैगरि रुपन्देहीको सियारी गाउँपालिका वार्ड नं. १ का वडाध्यक्ष अरुण शाहीले आगामी चार बर्षसम्म आफुले पालिकाबाट पाउने पारिश्रमिक सबै कल्याणकारी कोषलाई उपलब्ध गराउने जानकारी दिए । उनले पालिकाबाट करिब २६ हजार रुपैयाँ पारिश्रमिक पाउने गरेका छन् । त्यसैगरि सियारी वार्ड नं. २ का वडाध्यक्ष जनार्दन यादवले चार बर्षसम्म मासिक १० हजार कोषलाई दिने घोषणा गरे ।

सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा अधिकारीले २५ हजार, वार्ड नं. ३ का अध्यक्ष नारायण सापकोटाले १५ हजार, क्रिकेट संघका सदस्य विनय ज्ञवालीले १० हजार पनि कोषलाई उपलब्ध गराउने भएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष रोशनकुमार सिंहले क्रिकेट विकासका लागि खेलाडीहरुको प्रोत्साहन आवश्यक रहेको र त्यसका लागि कल्याणकारी कोषको स्थापना हुनु निकै खुशीको बिषय भएको बताए । उनले क्रिकेट खेलको विकासका लागि सबै क्षेत्रबाट सहयोग र हौसलाको आवश्यकता रहेकोमा जोड दिए ।

कार्यक्रममा सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, जिल्ला समन्वय समितिका पूर्व अध्यक्ष एकराज विक, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रशान्त बिक्रम मल्ल, सिद्धार्थनगर ३ का वडाध्यक्ष नारायण सापकोटालगायतले पनि बोलेका थिए ।

सो अवसरमा पवन सेठिया मेमोरियल तिन दिवसीय क्रिकेट प्रतियोगिता सम्पन्न गर्न ब्यवसायी हरिश सेठिया र संघबीच सम्झौता आदान प्रदान भएको थियो । त्यसैगरी लुम्बिनी नेत्रालयसँग खेलाडीहरुको उपचारमा ५० प्रतिशत छुट सम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर भएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सबै क्षेत्रको सहयोगबाट कल्याणकारी कोष बृद्धि गरी त्यसको ब्याज आम्दानीबाट खेलाडीहरुलाई प्रोत्साहन हुने कार्यक्रम संचालन गरिने जानकारी दिए ।

कार्यक्रममा क्रिकेट खेलाडीहरु सुस्मिता भुसाल, आश्मा पुलामी मगर, कृष्ण कार्की, देव खनाल, भुवन पाण्डेलाई सम्मान गरिएको थियो । कार्यक्रम संघका सचिव सन्जय गुरुङ्ग, सदस्य सार्थक पराजुलीलगायतले पनि बोलेका थिए ।

( साभार – गौतमबुद्ध संदेश डट कम )

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy