एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर र गरुडा नगरपालिका विजयी भएका छन्। समुह ‘बि’ बाट युथ अफ टिकापुरले सेमीफाइनलमा स्थान समेत पक्का गरेको छ।

आज सम्पन्न पहिलो खेलमा युथ अफ टिकापुरले कैलाली मल्टिपल क्याम्पसलाई पराजित गर्दै समुह चरणमा तिन वटै जितको साथ सेमीफाइनलमा स्थान सुरक्षित गर्यो।

युथ अफ टिकापुरले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित ११ ओभरमा कैलालीले ७ विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो।

कैलालीको ब्याटिंगमा कप्तान दिपक कपडेलले सर्वाधिक ३८ रन र पारस रोकायाले १२ रन योगदान दिए। युथ अफ टिकापुरका सुमित महर्जनले २ विकेट लिंदा मोहम्मद हुसेन, हरि चौहान, गौतम केसी र प्रकाश जैसीले १/१ विकेट लिए।

खराब मौसमका कारण ११ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिंग गर्दै युथ अफ टिकापुरले ७ विकेट गुमाएर ९४ रन बनायो।

टिकापुरको लागि प्लेयर अफ द म्याच घोषित गौतम केसी तथा प्रकाश जैसीले समान ३४ रनको योगदान दिए। केसीले २७ बलमा १ चौका र ३ छक्का तथा जैसीले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे। ३८ रनमा ४ विकेट गुमेको अवस्थामा केसी र जैसीले छैठौं विकेटको लागि ५५ रनको साझेदारी गरे।

कैलालीको बलिंगमा अभिषेक कुँवर र सुसिल बिस्टले २/२ तथा लोकेन्द्र खनाल र पारस रोकायाले १/१ विकेट लिए।

दिनको दोश्रो खेलमा गरुडा नगरपालिकाले विजयी सुरुवात गर्ने क्रममा सुदुरपश्चिमान्चल एकेडेमीलाई ९८ रनले पराजित गर्यो।

गरुडाले दिएको १७४ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमान्चल एकेडेमीले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर ७५ रन मात्र बनायो।

सुदुरपश्चिमान्चल एकेडेमीको लागि निसान रेग्मीले १८ तथा सौर्य श्रेष्ठले १४ रन बनाए। गरुडाका बलर धर्मेन्द्र साहले ४ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा १२ रन मात्र खर्चिए। नरेस शाह, रुपेश सिंह र नितेश यादवले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको गरुडाले २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो।

गरुडाको लागि रुपेश सिंहले आक्रामक ब्याटिंग गर्दै ६० रन योगदान दिए। १९ बलमा अर्धशतक पुरा गरेका सिंहले २९ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। निश्चल बिक्रमले अविजित ४३ रन बनाए जुन क्रममा २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। ७६ रनमा ६ विकेट गुमेको अवस्थामा रुपेश र निश्चलले ७४ रनको साझेदारी गरे।

सुदुरपश्चिमान्चलको बलिंगमा पारस सुनार र सन्दिप बिस्टले २/२ विकेट लिए। प्रकाश जोशी, बिरेन्द्र चन्द, सौर्य श्रेष्ठ र सागर साउदले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत शनिवार पनि दुई खेल हुनेछन्। पहिलो खेल विहान ९ बजे घोडाघोडी क्रिकेट एकेडेमी र गरुडा नगरपालिका बीच तथा दोश्रो खेल दिउँसो १ बजे सत्यवती एकेडेमी र लिटल एन्जल्स बीच हुनेछ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]