डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्स बिरुद्ध उद्घाटन खेलमा काठमाडौँ किंग्स-११ का अलराउण्डर रायन बर्ल प्लेयर अफ द म्याच चुनिए। २७ वर्षीय देब्रे हाते ब्याट्सम्यानले ब्याटिंगमा मात्र ३४ बलमा ३ चौका र ७ छक्का मद्दतले अविजित ७३ रन तथा बलिंगमा ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए।
खेलपछि प्रतिक्रिया दिने क्रममा बर्लले खुसि व्यक्त गरे – “स्थानीय टिमको लागि जितबाट प्रतियोगिता सुरु गर्दा खुसि लागेको छ। सर्वप्रथम म काठमाडौँ टिमलाई मलाई अवसर दिनु भएकोमा धन्यवाद भन्न चाहन्छु। उनीहरुले गरेको विश्वासलाई फिर्ता गर्न पाएँ। सकारात्मकता, विश्वास र मेहनतको समिश्रणले गर्दा हामि आज सफल भयौं।आफूप्रतिको विश्वास र प्रक्रियामा विश्वास तथा पर्दा पछाडी गर्ने मेहनतले गर्दा राम्रो नतिजा आउने हो।”
उनले सुरुवातमा विकेट स्लो रहेता पनि पछि सहज भएको बताए “३-४ ओभर विकेट स्लो थियो तर पानि परे पछि ब्याटमा आयो। खेल अघि बढ्दै गर्दा विकेट पनि राम्रो हुँदै गयो। दुई विकेट गुमेपछि ब्याटिंग गर्न कहिल्यै सहज हुँदैन, रन आउटले खेल परिवर्तन गर्छ। अर्को किनारमा बसेर गुर्बजको ब्याटिंग हेर्न पाउदा मजा लाग्यो। जब खेलाडी लयमा हुन्छ उसलाई स्ट्राइक दिनु पर्छ र दर्शकलाई खुसि बनाउन दिनु पर्छ। उनि आउट भएपछि आक्रामक हुने मेरो जिम्मेवारी थियो जुन पुरा गरे।”
ललित राजबंशीको एकै ओभरमा ३ छक्का र १ चौका मद्दतले २८ रन प्रहार गरेका उनले देब्रे हाते ब्याट्सम्यान बिरुद्ध आफूलाई प्रहार गर्न सजिलो हुने हुनाले अर्को किनारमा रहेका राजु रिजाललाई स्ट्राइक दिन भनेको बताए – “देब्रे हाते स्पिनरले बल पाउने बित्तिकै मैले नन-स्ट्राइकर ( राजु ) लाई मलाई स्ट्राइक दिन भनेको थिएँ। किनकि देब्रे हाते ब्याट्सम्यानको रुपमा घुम्दै भित्र आएको बलमा हान्न मलाई सहज हुन्छ। त्यसैले मैले आक्रमण गर्ने निर्णय गरे जसले काम गर्यो। आज मेरो राम्रो दिन थियो।”
उनले दर्शकको उपस्थितिले आफूलाई उर्जा प्रदान गर्ने बताए – “दर्शकहरुको उपस्थिति र हल्लाले हामीलाई उर्जा प्रदान गर्छ जुन एउटा क्रिकेटको लागि खुसि बनाउने कुरा हो। हामीले दर्शकको लागि खेल्यौं। धन्यवाद जो पनि आएर हामीलाई सपोर्ट गर्नु भयो र आशा गर्छु आगामी दिनमा अझै दर्शकहरु आउनेछन्।”
खेलमा ललितपुर पेट्रिएट्सले दिएको १५८ रनको लक्ष्य काठमाडौँ किंग्स-११ ले मात्र ३ विकेट क्षेतीमा ३४ बल बाँकी रहँदै भेटायो। काठमाडौँको जितमा बर्ल पछि अफगानिस्तानका ब्याट्सम्यान रहमनुल्लाह गुर्बजले ५९ रन बनाए। बलिंगतर्फ काठमाडौँका पेसर जितेन्द्र मुखियाले सर्वाधिक ४ तथा गुल्सन झाले २ विकेट लिए।