शक्ति गौचन पराजित

२०७८ माघ ५, बुधबार २२:५६

पूर्व स्टार राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई पराजित गर्दै हरि बहादुर थापा रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका छन्।

बुधबार भैरहवामा सम्पन्न संघको चौंथो अधिवेशनमा अध्यक्ष निर्वाचित थापाले ६४ मत प्राप्त गर्दा गौचनले ४० मत पाए। गौचन प्यानलमा रहेका उपाध्यक्ष पदका उम्मेदवार राजु खड्का, सचिव पदका उम्मेदवार दिपक शर्मा भुर्तेल र कोषाध्यक्ष पदका उम्मेदवार दिपेन्द्र लामगादे पनि पराजित भएका छन्।

संघको उपाध्यक्षमा धिरज क्षेत्री निर्वाचित भए। यस्तै पूर्व राष्ट्रिय क्रिकेटर तथा अम्पायर सन्जय गुरुङ सचिवमा निर्वाचित हुँदा कोषध्यक्षमा निरज प्रताप खाड निर्वाचित बाए। ६५ मत पाएका गुरुङले राष्ट्रिय क्रिकेटर कुशल भुर्तेलका बुवा दिपक भुर्तेललाई २६ मतान्तरले पराजित गरे।

संघको सदस्यहरुमा भरत थापा, विजय सिंह ज्ञवाली, पुनित पोखरेल, निराकार पन्त, प्रथम पराजुली, शेषमणि चौधरी, मनोज भण्डारी, कमल पाण्डे, उदयक्कुमार मल्लिक, श्रीराम नेपाली र उमा अधिकारी निर्वाचित भएका छन्।

चार वर्ष अघि २०१८ मा राष्ट्रिय क्रिकेट टिमबाट सन्यास लिएका गौचन पछिल्लो समय आफ्नै क्रिकेट एकेडेमी साथै क्रिकेट प्रशिक्षणमा सक्रिय छन्। उनि एभरेस्ट प्रिमियर लिगमा पोखरा राइनोजका बलिंग प्रशिक्षक थिए।

कुन जिल्लामा को निर्वाचित

क्यानको आसन्न साधारण सभाको लागि बैधानिक नरहेका जिल्लाहरुमा नयाँ कार्यसमिति चयन भइरहेको छ। यस क्रममा धनुषा जिल्ला क्रिकेट संघमा शोभाकान्त पाण्डे, पाल्पा जिल्ला क्रिकेट संघमा राजेश श्रेष्ठ, रौतहट जिल्ला क्रिकेट संघमा पवन शाह, सुनसरी क्रिकेट संघको अध्यक्षमा चेतनाथ पौडेल, कंचनपुर जिल्ला क्रिकेट संघमा बिरेन्द्र बहादुर चन्द, कपिलवस्तु जिल्ला क्रिकेट संघमा प्रकाश गैरे, बैतडी जिल्ला क्रिकेट संघमा बिनोद बहादुर चन्द अध्यक्ष निर्वाचित भएका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy