काठमाडौं । दक्षिण अफ्रिकाले नेपालमाथि अमेरिका र वेस्ट इन्डिजमा जारी रहेको नवौं संस्करणको टी-२० विश्वकपमा जित निकालेको छ । हार संगै नेपालको सुपर-८ चरण पुग्ने सम्भावना समाप्त भएको छ।
वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा अपराजित यात्रा जारी राख्ने क्रममा दक्षिण अफ्रिकाले १ रनको जित निकाल्यो ।
दक्षिण अफ्रिकाले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन मात्र बनायो ।
नेपालका लागि ओपनर आसिफ शेखले ४९ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाए । अनिल शाहले २४ बलमा ३ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए । शेख र शाहले तेस्रो विकेटका लागि ३६ बलमा ५० रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
दक्षिण अफ्रिकाका लागि तबरेज साम्सीले चार तथा कप्तान एडेन मारकमले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्सले ४९ बलमा ४३ तथा ट्रिस्टन स्टब्सले १८ बलमा २७ रन बनाए । कप्तान ऐडन मारकमले २२ बलमा १५ तथा क्विटन डि ककले १० रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले चार तथा दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए ।
प्रतियोगिता अन्तर्गत नेपाल पहिलो खेलमा नेदरल्याण्डसंग ६ विकेटले पराजित भएको थियो भने श्रीलंकासंगको दोश्रो खेल वर्षाका कारण रद्द हुँदा एक अंक पाएको थियो।