दक्षिण अफ्रिकाविरुद्ध उमेर समूहको नतिजा दोहोर्याउने लक्ष्यमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा शनिबार बिहान समूह डी मा रहेका नेपाल र दक्षिण अफ्रिकाबीच खेल हुदैछ ।

अन्तराष्ट्रिय क्रिकेटमा पहिलो पटक आमनेसामने हुन लागेका दुवै टोलीबीचको खेल वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा रहेको अर्नास भाले क्रिकेट स्टेडियममा हुदैछ । खेल नेपाली समय अनुसार शनिबार बिहान सवा पाँचमा सुरु हुदैछ ।

नेपाल र दक्षिण अफ्रिका यू-१९ क्रिकेट विश्वकपमा तीन पटक आमने सामने भएका छन् । दक्षिण अफ्रिकाविरुद्ध नेपाल यू-१९ क्रिकेट विश्वकपमा अपराजित रहेको छ । दक्षिण अफ्रिकाविरुद्ध दुई विश्वकप खेल नेपालले जित्दा एक खेल भने वर्षाका कारण प्रभावित भएको थियो ।

नेपाल दक्षिण अफ्रिकाविरुद्ध जितका साथ अर्को चरण (सुपर एट) प्रवेशको सम्भावनालाई कायमै राख्न चाहन्छ । नेपाललाई सुपर एटमा स्थान बनाउँन यो खेल साथै सोमबार हुने बंगलादेशसँगको खेल पनि जित्नु पर्ने हुन्छ । यता, यस संस्करणको विश्वकपमा तीन खेलमा अपराजित रहेर सुपर एटमा प्रवेश गरिसकेको दक्षिण अफ्रिका नेपाललाई पराजित गरेर समूह चरणको अपराजित यात्रा कायम राख्न चाहन्छ ।

नवौं संस्करणको विश्वकपमा नेपाल

नेपालले गतसाताको मंगलबार आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गरेको थियो । नेदरल्यान्ड्ससँगको खेल नेपालले छ विकेटले गुमाएको थियो । विश्वकपको दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्ने खेल तालिका रहे पनि भारी वर्षाका कारण टस समेत हुन नसकि सो खेल रद्द भएको थियो ।

नेपालले तेस्रो खेलमा वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा रहेको किंग्सटाउनमा १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । यस खेल पनि नेपाली समयअनुसार शनिबार बिहान सवा पाँचमा हुनेछ । विश्वकपको समूह चरणको चौथो तथा अन्तिम खेलमा १७ जुन अर्थात असार ३ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा नै खेल्नेछ । यो खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

यस विश्वकपमा २० राष्ट्रले सहभागीता जनाउँदै छन् । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । विश्वकपमा नेपाल समूह डी मा रहेको छ । नेपालको समूहमा नेदरल्यान्ड्स, बंगलादेश, श्रीलंका तथा दक्षिण अफ्रिका छन् ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy