सान यु-१६ कपको उपाधी वाईवाई ग्रेट हिमालयलाई, नेक्सस उपविजेता

  • विकेटनेपाल, असार ९ – शनिबार

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) द्वारा आयोजित सान यु-१६ कप क्रिकेटको उपाधी वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले जितेको छ। उसले नेक्सस क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गरेको हो।

टि-२० फर्म्याटमा आयोजित प्रतियोगिता अन्तर्गत किर्तिपुर अन्तर्राष्ट्रिय खेल मैदानमा बर्षाको कारणले छोट्याईएको खेलमा नेक्ससले टस जितेर पहिले ब्याटिंग गर्दै निर्धारित १० ओभरको खेलमा सबै विकेट गुमाउँदै ४४ रन मात्र बनाउन सकेको थियो। उसका लागि शाहील पटेलले ११ रन बनाएपनि अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेक्ससलाई झिनो योगफलमा समेट्न वाईवाई ग्रेट हिमालयका बिबेक यादव र अभिषेक केसीले समान २/२ विकेट लिए भने पियुष के सी , बिज्ञान गौतम, राम सुरत यादवको नाममा १/१ विकेट रह्यो।

उपविजेता नेक्सस क्रिकेट एकेडेमी

४५ रनको झिनो लक्ष्य लिएर जवाफमा उत्रिएको वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले ५ बल अगावै मात्र ५ विकेट गुमाएर पुरा गरेको थियो। उसका अभिषेक थापाले १५ रन र बिबेक यादवले १६ रन बनाएका थिए। नेक्ससका लागि त्रितराज दास, सुवास बिक, चिराग शाह र आविष्कार जोशीले समान १/१ विकेट लिए।

सान यु१६ को उपाधी जितेको वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले ट्रफी, मेडल सहित नगद ३० हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेता नेक्सस क्रिकेट एकेडेमीले २० हजार रुपैयाँमा चित्त बुझायो।

फाइनल खेलको म्यान अफ द म्याच वाईवाई ग्रेट हिमालयका बिबेक यादब, बेस्ट बलर एन्जल्स स्पोर्ट्सका किसोर बोगटी, बेस्ट ब्याट्सम्यान ओएसिसका आशिष भट्टराई, इमर्जिङ प्लयेर बालुवाटार क्रिकेट क्लबका प्रतीक पन्डित र म्यान अफ द सिरिज ओएसिसका सचिन शर्मा घोषित भए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy