इंग्ल्याण्डका पुर्व तिब्र गति बलर टिम ब्रेसननले सन् २०११ मा सचिन तेन्दुलकरलाई ९१ रनमा आउट गर्दा उनि र आउट दिने अम्पायर रड टकरलाई ज्यान मार्ने धम्की आएको खुलासा गरेका छन्। इंग्ल्याण्ड र भारत बीचको टेस्ट सिरिजमा सचिन एलबिडब्लु आउट भएका थिए जुन निर्णय अस्ट्रेलियन अम्पायर टकरले दिएका थिए।
सचिनले उक्त शतक पुरा गरेको भए अन्तर्राष्ट्रिय क्रिकेटमा १०० शतक पुरा हुन्थ्यो। यदी त्यो एलबिडब्लु निर्णय नदिईएको भए उक्त शतक पुरा हुन सक्थ्यो। घटनाको ९ वर्ष पछि ब्रेसननले योर्कसायर क्रिकेटको एक पोडकास्टमा खुलासा गरेका हुन्।
ज्यान मार्ने धम्कि आएको थियो
“सचिनलाई आउट गरेपछि मलाई र अम्पायर रड टकरलाई ज्यानमार्ने धम्कि आएको थियो। त्यो सिरिजमा रिभ्यु थिएन किनकि भारतीय क्रिकेट बोर्ड त्यो बेला रिभ्युको पक्षमा थिएन। ओभल मैदानमा खेलिएको उक्त खेल सिरिजको अन्तिम टेस्ट थियो। सचिन ९९ अन्तर्राष्ट्रिय शतकमा थिए। बल लेग स्टम्प मिस गर्दै गैरहेको थियो तर अम्पायरले उनलाई आउट दिए। उनि सायद ८०/९० ( ९१ ) मा ब्याटिंग गरिरहेका थिए। त्यो आउट नदिएको भए उनले निश्चितै शतक बनाथे” इंग्ल्याण्डको लागि २३ टेस्ट, ८५ वानडे र ३४ टि-२० अन्तर्राष्ट्रिय खेलेका ब्रेसननले बताए।
सचिनको विकेटपछि इंग्ल्यान्डले सिरिज जितेको थियो र टेस्टमा पनि नबर-१ टिम बनेको थियो। सचिनलाई त्यसरी आउट दिएपछि तत्कालीन समयमा निकै हलचल मचिएको थियो। टिभी रिप्लेमा बल लेग स्टम्पको माथिल्लो हिस्सलाई छोएर निस्केको थियो। रिभ्यु भएता पनि निर्णय परिवर्तन हुने थिएन।
“त्यस घटना पछि हामि दुवैलाई ज्यान मार्ने धम्किहरु आएको थियो जुन धेरै दिनसम्म चल्यो। मलाई ट्वीटरमा धम्कि आयो। अम्पायर टकरको घरमा मान्छेहरुको धम्किपूर्ण चिट्ठीहरु पठाईएको थियो। उनलाई मानिसहरु सचिनलाई कसरि आउट दिएको बल लेग स्टम्प बाहिर गएको थियो भनेर सोधीरहेका थिए। केहि महिना पछि जब मैले उनिसंग भेटे तब उनले मलाई सुरक्षा गार्डसम्म बोलाउनु परेको बताएका थिए। यहाँ सम्मकी अस्ट्रेलियामा पुलिस सुरक्षा पनि लिनु परेको थियो।”
सचिनले सन् २०१२ मा बंगलादेश बिरुद्ध एसिया कपमा १०० औं शतक पुरा गरेका थिए जुन क्रममा ११४ रन बनाएका थिए।
तेन्दुलकरले भारतको लागि २०० टेस्ट र ४६३ एकदिवसीय खेलेका थिए। टेस्टमा ५३.७८ को औशतले ५१ शतक र ६८ अर्धशतक मद्दतले १५,९२१ तथा एकदिवसीयमा ४४.८३ को औशतले ४९ शतक तथा ९६ अर्धशतक मद्दतले १८,४२६ रन बनाएका छन्।