सागको लागि महिला क्रिकेट टिमको तयारी सुरु, पुरुष टिमको अझै अनिश्चित

मङ्सिर १५ देखि २४ सम्म ( डिसेम्बर १ देखि ) नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुदको ( साग ) लागि नेपाली महिला क्रिकेट टिमले तयारी सुरु गरेको छ।

बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवालले प्रशिक्षक जगत टमाटा, कप्तान रुबिना क्षेत्री र उपकप्तान सिता राना मगरलाई क्रिकेट बल हस्तान्तरण गर्दै अभ्यास उद्घाटन गरेका हुन्।

टियु मैदानमा सुरु भएको अभ्यासमा ३५ जना खेलाडीहरुलाई प्रारम्भिक टोलिमा राखेर अभ्यास सुरु गरिएको छ। पहिलो दिन १४ जना खेलाडी मात्र उपस्थित थिए। महिला टिमलाई जगत टमाटा र सामसन जंग थापाले प्रशिक्षक दिनेछन्।

फोटो – सुमन राज कार्की

एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट पोखरामा संचालन हुने सम्भावना रहेको छ। पुरुष क्रिकेट भने टियु मैदानमा आयोजना हुनेछ। पुरुष क्रिकेट टिमको तयारी भने अझै सुरु भएको छैन। टियु मैदानमा यतिबेला यु-१९ एसिया कपको तयारीको लागि नेपाली युवा टिम अभ्यासरत रहेको छ।

नेपालले अक्टोबर ५ देखि १० सम्म ( असोज १८ देखि – २३ ) ओमानमा ५ देश सहभागी हुने टि-२० सिरिज खेल्नेछ जसको लागि पनि अभ्यास सुरु गर्नुपर्नेछ।  प्रतियोगितामा आयोजक ओमान र नेपाल सहित, हंगकंग, आयरल्याण्ड र नेदरल्याण्ड सहभागी हुनेछन्। साग र उक्त टि-२० सिरिजको अभ्यास एकैपटकमा हुने सम्भावना रहेको छ। आईसीसीको अनुमतिमा अभ्यास सुरु गर्ने हुँदा नेपाली पुरुष टिमको अभ्यास अझै ढिला सुरु हुनेछ। प्रशिक्षक उमेश पटवाल पनि अहिले नेपाल बाहिर विदामा रहेका छन्।

अन्तिम पटक नेपाली महिला राष्ट्रिय टिमले यसरी वर्ष फेब्रुवरीमा थाईल्याण्डमा टि-२० विश्वकप छनौट ( एसिया ) खेलेको थियो। उक्त प्रतियोगितामा नेपालले दोश्रो स्थान हाँसिल गरे पनि थाईल्याण्ड प्रथम हुँदा अर्को चरणको लागि छनौट हुन असफल भएको थियो।

साग महिला क्रिकेटमा टेस्ट राष्ट्रका सिनियर टिमले खेल्नेछन् भने पुरुष तर्फ भने टेस्टराष्ट्रका २३ वर्ष मुनिको टिम खेल्नेछन्।

फोटोहरु –

( फोटो – सुमन राज कार्की )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy