- विकेटनेपाल, चैत ११
काठमाडौं – त्रिचन्द्र कलेज र हिमालयन कलेजले गोल्डेन गेट कलेज क्रिकेट लिग अन्तर्गत दोस्रो दिनको खेलमा जित दर्ता गरेका छन् ।
दिलिप नाथ र पुरन विकको आक्रमक ब्याटिङ तथा सागर भण्डारीको घातक बलिङमा त्रिचन्द्रले नेपाल बन कलेजलाई ८९ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्यो ।
टस जितेर पहिलो ब्याटिङ रोजेको त्रिचन्द्रले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७३ रन जोडेको थियो । त्रिचन्द्रका लागि ओपनर दिलिपले २३ बलमा समान ३ चौका र छक्काको मदतले ४२ रनको योगदान दिए । प्रज्वल शाहीले २५ बलमा ४ चौका र १ छक्कासहित ३५ रन जोडे । पुरन ४५ रनमा नटआउट रहे । उनले ३५ बलको सामना गर्दै ५ चौका प्रहार गरे । बन कलेजका लागि पाल्देन लामा, युन्तेन लामा र प्रसिद्धले १-१ विकेट लिए ।

जवाफमा म्यान अफ द म्याच सागर भण्डारी एक्लैले ६ विकेट लिएपछि बन कलेज १९ औं ओभरमा मात्र ८४ रन जोड्दै अलआउट भयो । जय साउदले सर्वाधिक १४ रन जोड्दा अहमद र छेदुप लामाले १२-१२ रनको योगदान दिए ।
सागरले बन कलेजका शीर्ष ३ विकेट लिँदै १८ औं ओभरमा पनि ३ विकेट लिएका थिए । यसबाहेक इर्शाद अहमद, दिलिप नाथ, सोहन यादव र पुरन विकले १-१ विकेट लिए । लगातार दोस्रो हार बेहोरेको बन कलेज समूह चरणबाट नै बाहिरिएको छ ।
हिमालयनको रोमान्चक जित
त्यसअघि दिनको पहिलो खेलमा हिमालयन कलेजले अन्तिम दुई ओभर उत्कृष्ट प्रदर्शन गर्दै नेपाल कमर्स क्याम्पस (एनसीसी) लाई १२ रनले पराजित गर्यो ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा टस हारि पहिलो बलिङ्ग गरेको एनसिसिका लागि भुवन कार्कीको उत्कृष्ट बलिङ्ग गर्दै तीन विकेट लिएपछि हिमालयनले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रनमात्र बनाउन सक्यो।

ओपनर अमित श्रेष्ठ र शुशान्त तिमल्सिनाले एनसिसिलाई उत्कृष्ट शुरुवात दिलाउने क्रममा पहिलो विकेटका लागि ११ ओभरमा ७१ रन जोडेका थिए । तर अमितको विकेट पतन भएपसँगै एनसिसिको इनिङ्गस लडखडाउन पुग्यो । अन्तिम १२ बलमा २३ रनको आवश्यकता रहेको स्थितिमा एनसिसिले १९ ओभरमा ८ रनमात्र जोड्न सक्यो । अन्तिम ओभरमा अविराज रोयले कसिलो बलिङ्ग गर्दै दुई रनमा दिएपछि हिमालयनले सनसनीपूर्ण जित हात पार्यो ।
एनसिसिका लागि अमितले ३५ बलमा सात चौका र एक छक्काको मद्दतमा ४६ रन बनायो । शुशान्तले ४० बलमा एक चौका प्रहार गर्दै २७ रन बनाए । बसन्त खत्रीले १७ बलमा एक छक्का प्रहार गर्दै २२ र बनाए भने अन्य खेलाडीहरुले उल्लेखनीय योगदान गर्न सकेनन् । हिमालयनका लागि मयंकले सर्वाधिक दुई विकेट लिएका थिए।

त्यसअघि पहिलो ब्याटिङ्ग गरेको हिमालयनले पनि ठोस शुरुवात गर्दै पहिलो विकेटका लागि सात ओभर भित्र ४६ रन जोडेको थियो । तर भुवनले कसिलो बलिङ्ग गरेपछि हिमालयन रोकिएको थियो । अनुभवी स्पिनर भुवनले चार ओभरमा १९ रन खर्चदै तीन विकेट लिएका थिए । हिमालयनका लागि ओपनर दिनेश अधिकारीले २३ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै २७ रन बनाए ।
यस्तै पंकज दासले २० बलमा दुई छक्का र एक चौकाको मद्दतमा २२ रन बनाएका थिए । म्यान अफ द म्याच रुपेश सिँह (१८), अश्चल चौधरी (१८) र सुमन गहतराजले १७ रन बनाएका थिए । पवन कार्कीले पनि एनसिसिका लागि दुई विकेट लिएका थिए ।
युनिभर्सिटी क्रिकेट क्लबको योजनामा जारि प्रतियोगितामा १२ कलेज सहभागी छन् । विजेताले २ लाख २२ हजार २ सय २२ तथा उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै म्यान अफ द सिसिजले रु २५ हजार र प्रतियोगिताको उत्कृष्ट ब्याट्स्म्यान र बलरले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले एक्सटेपको प्रोयाजनमा रु ५ हजार बराबरको जुत्ता प्राप्त गर्नेछन् ।८ दिने प्रतियोगिताका सबै खेलहरु किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको अनुमानित बजेट ३० लाख रुपैयाँ रहेको छ ।
सहभागि कलेजहरुलाई चार समुहमा विभाजन गरिएको छ र राउण्ड रोबिन लिगपछि प्रत्येक समुहको प्रथम स्थान ओगट्ने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल चैत्र १६ गते हुनेछ भने फाइनल चैत्र १७ गतेका लागि तय गरिएको छ ।
समुह क मा अर्किड इन्टरनेशनल कलेज, एडिया कान्तिपुर सिटि कलेज (केसीसी) र ट्रिटन इन्टरनेशनल कलेज रहेका छन् भने समुह बी मा काठमाडौं युनिभर्सिटी, नेपाल बन कलेज र त्रि चन्द्र क्याम्पस रहेका छन् । यस्तै समुह सी मा नेपाल कमर्स क्याम्पस, हिमालय कलेज र शंकर देव क्याम्पस रहेका छन् । समुह डी मा गोल्डेन गेट इन्टरनेशनल कलेज, त्रिभुव बिश्वबिद्यालय र ओमेगा इन्टरनेशनल कलेज रहेका छन् ।
मंगलबारको खेल :
केसीसी विरुद्ध ट्रीटन – ९ बजे
ओमेगा विरुद्ध टियू – १ बजे