- विकेटनेपाल, पौष ६ – शुक्रबार
एभरेस्ट प्रिमियर लिगमा काठमाडौँ किंग्स-११ को लागि खेल्ने क्रममा घाइते हुँदा राष्ट्रिय क्रिकेटर सागर पुन ६ देखि ७ महिना क्रिकेट खेल्न नसक्ने भएका छन्।
ईपिएल टि२० क्रिकेटको दौरान घाइते भएका उनको खुट्टाको सल्यक्रिया गरिएको छ। प्रतियोगिताको पहिलो क्वालिफायरमा ललितपुर प्याट्रीयट्सबिरुद्द बलिंग गर्दा उनको दायाँ खुट्टाको गोलिगांठोमा समस्या देखापरेको थियो।
घाइते भएपछि पनि बलिंग गर्ने प्रयास गरेका उनले एक बल भन्दा धेरै गर्न सकेनन्। खेलको पहिलो ओभर बलिङ्ग गर्न आएका उनले ओभरमा ४ बल मात्रै गर्न सके पछि उनको ओभर जितेन्द्र मुखियाले पुरा गरेका थिए।
उनको खुट्टाको सल्यक्रिया गरिएको र करिब ७ महिना मैदान बाहिर रहने जानकारी नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले शुक्रबार फेसबुक पोस्ट मार्फत जानकारी गराएका छन्। पोस्टमा उनले सागरलाई सिघ्र स्वस्थ लाभको कामना समेत गरेका छन्।
सन् २००६ मा नेपाली अन्डर-१५ राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरेका सागर पुनले त्यसपछि २००९ मा नेपाली अन्डर-१७ हुँदै सोहि बर्ष नेपाली अन्डर-१९ र अन्डर-२१ टिममा स्थान बनाएका थिए। सन् २०१२ मा अस्ट्रेलियामा सम्पन्न अन्डर-१९ बिश्वकपमा स्थान बनाएका सागरले त्यसको अर्को बर्ष नेपालमा भएको एसीसी टि-२० प्रतियोगितामा नेपाली टिममा डेब्यु गरेका थिए।
राष्ट्रिय टिममा डेब्यु गरे गर्दा मध्ये क्रमका ब्याट्सम्यान र अफस्पिनर रहेका पुनले पछि नेपाली टिमको ओपनरको भूमिका पनि निभाए। नेपाल २०१४ को टि-२० बिश्वकपमा छनौट हुँदा नेपाली टिमको सदस्य रहेका सागर त्यसपछि राष्ट्रिय टिममा नियमित रहँदै आएका थिए।
२०१७ को अन्त्यमा बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा उल्लेख्य प्रदर्शन गर्न नसके पछि टिमबाट निकालिएका पुनले त्यसपछि यसै बर्ष अगस्टमा मलेसियामा सम्पन्न एसिया कप छनौटमा राष्ट्रिय टोलिमा पुनः स्थान बनाएका थिए।
राष्ट्रिय टिमको लागि उनले २ वटा अर्धशतक बनाउने क्रममा यसै बर्ष एसिया कप छनौटमा बनाएको ८३ रन सर्वाधिक व्यक्तिगत योगफल हो। यस्तै बलिङ्गतर्फ उनले राष्ट्रिय टिमको लागि ५ पटक ३ विकेट लिएका छन्।