काठमाडौं । जारी ग्लोबल टी-२० लिगको आफ्नो दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध भेनकुवर नाईट्सले लगातार दोस्रो हार व्यहोरेको छ ।
क्यानडाको सीएए सेन्टर, ब्राम्पटनमा नाईट्सलाई टाईगर्सले २२ रनले पराजित गर्यो ।
टाईगर्सले दिएको १५३ रनको लक्ष्य पछ्याएको नाईट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन मात्र बनायो ।
नाईट्सका लागि हर्ष ठाकरले सर्वाधिक अविजित ७९ रन बनाए । ठाकरले ६७ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । डिवान प्रिटोरियसले २५ बलमा २९ रन बनाउँदा रिजा हेनरिक्सले १० रन बनाए । छैटौं विकेटका लागि प्रिटोरियस र ठाकरले बलमा रनको साझेदारी गरेका थिए ।
नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले भने दुई बलमा मात्र एक रन बनाए । सन्दीप लामिछाने दुई रनमा अविजित रहे ।
टाईगर्सका लागि कप्तान साकिब अल हसनले तीन तथा गुरपाल सिन्धु, डेबिड विजे र शरिफुल ईस्लामले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो ।
बंगालका लागि इफ्तिखार अहमदले ४० बलमा ५० तथा हरजततुल्लाह जाजईले २८ बलमा ३३ रन बनाए । डिलान हेलिङ्गरले २७ तथा प्रगत सिंहले २० रन बनाए ।
नाइट्सका लागि सन्दीप लामिछानेले दुई विकेट लिए । लामिछानेले चार ओभरमा ३२ रन खर्चिएर दुई महत्वपुर्ण विकेट लिएका थिए ।
लगातार दुई खेलमा पराजित नाईट्स अंक बिहिन रहदै पाँचौ स्थानमा छ ।
