युएईसंग लज्जास्पद ब्याटिंग पछि सन्दिपले भने “ब्याटिंगलाई गम्भीरतापूर्वक सोच्ने बेला आएको छ”

२०७८ चैत्र ५, शनिबार १०:३६

युएईले दिएको १६९ रनको सामान्य लक्ष्य पनि पछ्याउन नसक्दा ४८ रनको हार पछि नेपाली टिमका कप्तान सन्दिप लामिछानेले ब्याट्सम्यानहरुले जिम्मेवारी देखाउनु पर्ने बताएका छन्।

युएईमा जारि विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोश्रो खेलमा पहिले ब्याटिंग गर्दै युएई १६८ रनमै समेटिन पुग्यो। प्रतिउत्तरमा सहजै पछ्याउने अपेक्षा गरिएको लक्ष्य पछ्याउने क्रममा नेपाल ३५.१ ओभरमा १२० रनमै समेटियो।

“यो अपत्यारिलो कुरा हो, १६८ रन चेज गर्दा मैले सोचेको थिए कि ३०-३५ ओभरमै उक्त लक्ष्य पछ्याएर खुसि भएर होटल पुग्नेछौँ। तर हामीले निकै खराब ब्याटिंग देखायौं।” हार पछि प्रतिक्रिया दिंदै सन्दिपले बताए।

उनले ब्याट्सम्यानहरुले जिम्मेवारी देखाउनु पर्ने बताए – “हामीले जिम्मेवारी देखाउनु पर्छ , यो अंकतालिकाको खेल हो त्यसैले यस्ता खेलहरुले हामीलाई पछि गार्हो बनाउन सक्छ।”

लक्ष्य पछ्याउने क्रममा २७ रनमा ३ विकेट गुमेपछि ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले चौंथो विकेटको लागि ५५ रनको साझेदारी गरेका थिए। तर मल्लको विकेटपछि नेपालले पुनः लगातार विकेट गुमायो।

“हो रोहित र ज्ञानेन्द्रले राम्रो साझेदारी गरे जसपछि बाँकी ब्याट्सम्यानको काम सहज थियो, त्यहाँ पुगेर अर्को १०-१५ ओभर खेल्ने। मलाई लाग्छ हामि हतारमा खेल्यौं त्यति रन बनाउन। साझेदारी बन्नु पर्नेमा विकेट लगातार खस्दा हामी पछि पर्यौं।”

ब्याटिंगलाई गम्भीरतापूर्वक सोच्ने बेला आएको उनले बताए – “हाम्रो ब्याटिंग बारे गम्भीर भएर सोच्ने बेला हो। पछिल्लो प्रतियोगिताहरुमा हेर्ने हो भने पनि ब्याटिंग चलीरहेको छैन। हामी पछि परिरहेका छौँ , हामीलाई थाहा छ।  अझै दुई खेल बाँकी छ त्यसमा हामीले कमजोरीहरुमा काम गर्नुपर्छ। हामि अर्को खेलमा बलियो पुनरागमन गर्ने प्रयास गर्नेछौँ।”

सिरिज अन्तर्गत नेपालले आगामी खेल  मार्च २१ तारिख सोमबार युएईसंग तथा मार्च २२ तारिखमा पपुवा न्यु गिनीसंग खेल्ने तालिका छ। पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई २ विकेटले पराजित गरेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy