ज्ञानेन्द्रलाई अनुशासनको कारवाही गर्दै सन्दिपलाई राष्ट्रिय टिमको कप्तानी

२०७८ मंसिर २९, बुधबार २०:२८

नेपाल क्रिकेट संघले ( क्यान ) ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउदै सन्दिप लामिछानेलाई नेपाली क्रिकेट टिमको कप्तानी दिने निर्णय गरेको छ।

क्यानको बुधबार बसेको बोर्ड बैठकले अनुशासन उल्लङ्घन गरेको बताउदै ज्ञानेन्द्र मल्ल तथा उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई पद मुक्त गरेको हो।

क्यानले गठन गरेको अनुशासन उल्लङ्घन सम्बन्धि गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम खेलाडी आचारसंहिता उल्लङ्घनमा संलग्न चार खेलाडीहरु मल्ल र ऐरी सहित सोमपाल कामि र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने समेत क्यानले निर्णय गरेको छ।

नेपाल क्रिकेट संघले असोजमा गरेको ( अप्रिल २०२१ देखि डिसेम्बर २०२१ सम्मको ) खेलाडी वर्गीकरण चित्त नबुझेपछि ज्ञानेन्द्र सहित, सोमपाल, दिपेन्द्र र कमलले क्यानसंग असन्तुष्टि व्यक्त नगरेर सोझै मिडियामा ( सेतोपाटिमा) बोलेका थिए। सोमपाललाई वर्गीकरणमा ‘बि’ श्रेणीमा राखिएको, रोहितलाई वर्गीकरणमा नराखिएकोमा उनीहरु असन्तुष्ट थिए। यस्तै उनीहरुले वर्गीकरणमा १८ जना खेलाडीलाई मात्र राखिएकोमा समेत उनीहरुले असन्तुष्टि पोखेका थिए।

वर्गीकरणमा असन्तुष्टि पोख्दै मिडियामा वक्तव्य दिएपछि चार खेलाडीहरुलाई क्यानले स्पष्टीकरण सोधेको थियो। खेलाडीहरुले चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि क्यानले दोश्रो पटक पनि स्पष्टीकरण सोधेको थियो। दोश्रो पटक पनि स्पष्टीकरण चित्तबुझ्दो नभए पछि क्यान कारवाहीको दिशामा अघि बढेको थियो। खेलाडीहरुले माफी माग्नुको सट्टा क्यानलाई ११ बुंदे माग प्रस्तुत गरेका थिए।

क्यानले भने सोमपाललाई ‘बि’ श्रेणीमा राख्नुको पछाडी सोमपालको खस्किएको प्रदर्शन कारण दिंदै आएको छ। सोमपालले वर्ष २०२१ मा नेपालको लागि खेलेको ११ वटा खेलमा मात्र ७ विकेट लिएका छन्। यो वर्ष अप्रिलमा त्रिकोणात्मक टि-२० सिरिजको मलेसिया बिरुद्ध खेलमा ३ विकेट लिएका सोमपाल ११ खेल मध्ये ६ खेलमा विकेटविहिन रहेका थिए भने अन्य ४ खेलमा एक/एक विकेट लिएका थिए।

क्यानको वर्गीकरण ( अप्रिल २०२१ देखि डिसेम्बर २०२१ सम्मको ) अनुसार ग्रेड ‘ए’ मा ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, करन केसी, दिपेन्द्र ऐरी र पारस खड्का , ग्रेड ‘बि’ मा सोमपाल कामि, शरद भेसावकर, बिनोद भण्डारी, कुशल मल्ल, अविनाश बोहरा , सुशन भारि तथा ग्रेड ‘सी’ मा कुशल भुर्तेल, आरिफ शेख, कमल सिंह ऐरी, आसिफ शेख, सन्दिप जोरा, शाहब आलम र पवन सर्राफ थिए। ए, बि र सी ग्रेडका खेलाडीले क्रमसः मासिक ५०, ४० र ३० हजार रुपैयाँ तलब पाउने गर्छन्।

क्यानले खेलाडी वर्गीकरणको लागि बनाएको मापदण्डमा अन्तर्राष्ट्रिय सहभागितालाई २५ अंक, घरेलु सहभागितालाई १० अंक, खेलाडीको प्रदर्शनलाई ४० अंक, टिमलाई दिएको योगदानलाई ५ अंक, फिटनेसलाई ५ अंक, स्थायीत्वलाई ५ अंक र अनुशासन लगायतका क्रियाकलापलाई ५ अंक दिएको थियो।

क्यान बैठकले राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षक डिसेम्बर २१ तारिख देखि पोखरामा संचालन गर्ने समेत निर्णय गरेको छ। नव नियुक्त प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगेपछि क्यानले बन्द प्रशिक्षण थाल्नेछ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy