लगातार तेश्रो सिजन करेबियन प्रिमियर लिग टि-२० खेल्न छनौट भएका नेपाली स्पिनर सन्दिप लामिछानेले नयाँ टिमको लागि यो सिजन खेल्न उत्साहित रहेको प्रतिक्रिया दिएका छन्।
सिपिएल टि-२० आयोजकले आफ्नो फेसबुक मार्फत आठौँ संस्करणको ड्राफ्टको नतिजा सार्वजनिक गर्ने क्रममा सन्दिप जमैका तालावाजको लागि छनौट भएका थिए। सन्दिपले ड्राफ्टमा आफ्नो मूल्य ९० हजार डलर राखेका थिए। अर्थात सन्दिपले नेपाली रुपैयाँ १ करोड ७ लाख ४६ हजार पाउनेछन्।
सिपिएल टि-२० को फेसबुक पेजमा भिडियो सन्देश मार्फत सन्दिपले खुसि व्यक्त गरेका हुन् –
सन्दिपले के भने :-
“नयाँ टिम हो मेरो लागि। तिन वर्ष सीपीएलमा तिन वटा छुट्टै टिमको लागि खेले। म सबै टिमहरु प्रति धन्य छु। पहिले सेन्ट किट्स त्यसपछि बार्बेडोस र अहिले जमैकाको लागि लागि खेल्नु मेरो लागि ठुलो कुरा थियो।”
“धेरै समय भयो क्रिकेट खेल्न नपाएको त्यसैले पनि निकै उत्साहित छु मैदानमा फर्कन। क्रिकेट नखेलेको धेरै भयो र अहिले नेटमा आफ्नो लयमा पनि फर्किएको छु।”
“मेरो लागि टिमको नतिजा पहिलो स्थानमा रहन्छ। पहिलो सिजन सेन्ट किट्स र त्यसपछि बार्बेडोसको लागि खेलेर योगदान दिन पाउदा म खुसि छु। गत वर्ष बार्बेडोस विजेता भएको थियो जुन बेला मैले टिममा धेरै कुरा देखेको थिए। जित्ने उत्साह र भोक सबै खेलाडीहरुमा थियो। ठुलो खेलाडीहरुसंग खेल्दा र आफ्नो प्रदर्शन हेर्दा खुसि लाग्छ। मलाई कहिले लाग्छ मैले २० विकेट लिएको भए हुन्थ्यो। क्रिकेट फेरी फर्किदैछ त्यसैले मैदान फर्कन निकै उत्साहित छु।”
ड्यारेन गंगा र स्यामुयल बद्रिद्वारा सन्दिपको तारिफ
पुर्ववेस्ट इन्डिज क्रिकेटर ड्यारेन गंगा र स्यामुयल बद्रिले सन्दिप लामिछानेको तारिफ गरेका छन्। सन्दिप जमैकाको लागि छनौट भएपछि प्रतिक्रिया दिने क्रममा गंगा र बद्रिले सन्दिपलाई उत्कृस्ट प्रतिभा भएको बताए-
स्यामुयल बद्रिले सन्दिप बारे के भने :-
निकै राम्रो छनौट हो जमैकाको लागि, उनले यस अघि पनि खेलीसकेका छन्। उनिसंग सीपीएलको अनुभव रहेको छ। निकै उत्साहित युवा स्पिनर हुन्। साम्सी ( देब्रे हाते स्पिनर ) संग उनिहरुको स्पिन आक्रमण राम्रो रहेको छ।
प्रतियोगिता एउटै मैदानमा खेलिने हुँदा प्रतियोगिता अघि बढेसंगै स्पिनरको लागि मद्दत गर्ने पिच हुनेछ। सन्दिपले जमैकाको लागि निकै महत्वपूर्ण भूमिका खेल्नेछन्। उनि उत्कृस्ट युवा प्रतिभा हुन्। उनले आईपीएल पनि खेलीसकेका छन् दिल्ली क्यापिटलको लागि। उनि सधै सिक्न चाहन्छन्, उनिसंग सिप छ र म उत्साहित छु सिपिएल टि-२० मा उनको प्रदर्शन हेर्न।
ड्यारेन गङ्गाले सन्दिप बारे के भने :-
उनि मार्की खेलाडीको रुपमा पनि त्यहाँ छन् त्यो उनको लागि उत्साहजनक कुरा हो । हामीलाई थाहा छ उनि कस्तो स्पिनर हुन्। उनि आक्रामक स्पिनर हुन्। यस अघि विजेता टिमको सदस्य रहेका थिए। जमैकाको लागि ठुलो मूल्य राख्नेछन्। उनि प्रमुख खेलाडी हुन्। मलाई याद छ अघिल्लो वर्ष उनले बार्बेडोस ट्राइडेन्टस छिट्टै छोड्नु परेको थियो उनि देशको लागि खेल्न। त्यस बेला पुरा सिजन खेल्न नपाउदा उनि निकै निराश भएका थिए र आँशुले भरिएका थिए। त्यो प्यासन एउटा खेलाडीमा हुनु पर्छ जसले गर्दानै एउटा टिमको सफलतामा ठुलो भूमिका खेल्ने हो।
सिपिएल टि-२० को आठौँ संस्करण १८ अगस्ट देखि १० सेप्टेम्बरमा आयोजना हुनेछ। कोभीड-१९ का कारण प्रतियोगिता आयोजना हुने नहुने संशय भने अझै बाँकी रहेको छ। प्रतियोगिता दर्शक बिना खेलाइने आयोजकले बताउदै आएको छ तै पनि सरकारी अनुमति भने अझै लिगले पाएको छैन।
सन्दिपले यस अघि सिपिएल टि-२० को दुइ वटा संस्करण सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स तथा बार्बेडोस ट्राइडेन्टबाट खेलेका थिए। सेन्ट किट्सको लागि खेल्दा ५ हजार डलर पाएका सन्दिपले त्यसपछि बार्बेडोसको लागि खेल्दा ७० हजार डलर पाएका थिए।
करेबियन प्रिमियर लिगमा बार्बेडोस ट्राइडेन्ट, गुएना एमेजन वारियर्स, जमैका तल्लावाह, सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स, सेन्ट लुसिया जुक्स र ट्रिनबागो नाइट राइडर्स गरि ६ वटा टिम सहभागी छन्। गत सिजनको उपाधि बार्बेडोस ट्राइडेन्टले गुएनालाई फाइनलमा पराजित गर्दै जितेको थियो।