नेपाली लेग स्पिनर सन्दिप लामिछाने करेबियन प्रिमियर लिगको यो संस्करण ट्रिनबागो नाइट राइडर्सको प्रतिनिधित्व गर्ने भएका छन्। लिग अगस्ट २८ तारिख देखि सुरु हुने तय भैसकेको छ।
करेबियन प्रिमियर लिगले ट्वीटरमार्फत नेपाली लेग स्पिनरले लिगको नवौं संस्करणमा सहभागिता जनाउने पक्का गरेको हो। सन्दिपलाई कति रकममा ट्रिनबागोले भित्र्याएको हो थाहा भएको छैन।गत सिजन जमैका तलावाजको प्रतिनिधित्व गरेका सन्दिपलाई ड्राफ्टमार्फत टिमले ९० हजार डलर खर्चेको थियो।
ट्रिनबागोबाट खेल्ने पक्का भएपछि सन्दिप लामिछानेले ट्वीट गर्दै खुसि व्यक्त गरेका छन् –
“नाइट राइडर्स परिवारसंग आवद्ध हुन पाउदा निकै खुसि छु र च्याम्पियन टिम ट्रिनबागो नाइट राइडर्सको प्रतिनिधित्व गर्न उत्साहित छु। यो पक्कै गजबको यात्रा हुनेछ। म गत वर्ष अवसर दिएकोमा जमैका तलावाज टिम प्रति आभार व्यक्त गर्न चाहन्छु।”
BREAKING NEWS! 🇳🇵🇳🇵🇳🇵@Sandeep25 will be playing for the @TKRiders at CPL2021! #CPL21 #CPLDraft #SandeepLamichhane #CricketPlayedLouder pic.twitter.com/EdQxssyivR
— CPL T20 (@CPL) May 25, 2021
सन्दिपले सिपिएल टि-ट्वान्टीको पछिल्लो ३ वटा सिजन फरक टिमको प्रतिनिधित्व गरेका थिए। २०१८ मा पहिलो सिजन सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सबाट, दोश्रो सिजन २०१९ मा बार्बेडोस ट्राईडेन्टबाट तथा गत सिजन २०२० मा जमैका तलावाजको प्रतिनिधित्व सन्दिपले गरेका थिए। २ दिन अघि मात्रै जमैकाले सन्दिपलाई फुकुवा गरेको थियो।
गत सिजन सन्दिपले जमैकाको प्रतिनिधित्व गर्दै ११ खेलमा १२ विकेट लिंदै प्रतियोगिताको संयुक्त रुपमा पाँचौ सर्वाधिक विकेटकर्ता रहेका थिए। लिगमा सन्दिपले निकै किफायती बलिंग गरेका थिए जुन क्रममा प्रतिओभर मात्र ५.२८ रन खर्चेका थिए।
सन्दिपको टिममा को-को छन्
करेबियन प्रिमियर लिगको सर्वाधिक सफल टिम ट्रिनबागो नाइट राइडर्स लिगको डिफेन्डिङ च्याम्पियन हो।राइडर्सले २०१७ र २०१८ मा पनि उपाधि जितेको थियो।
चर्चित वेस्ट इन्डिज क्रिकेटर काईरन पोलार्ड कप्तानी रहेको ट्रिनबागोमा सुनिल नारायण, ड्वेन ब्राभो, कोलिन मुनरो, लेन्डल सिमोन्स जस्ता स्टार खेलाडीहरु रहेका छन्। अधिकांश पछिल्लो सिजन खेलेका खेलाडीहरुलाई ट्रिनबागोले रिटेन गरेको छ।
ट्रिनबागो नाइट राइडर्स टिम : काइरन पोलार्ड, सुनिल नारायण, ड्वेन ब्राभो, कोलिन मुनरो, लेन्डल सिमोन्स, सिकन्दर राजा, खरी पिएरे, एण्डरसन फिलिप, दिनेश राम्दीन, टायन वेब्स्टर, अकेल होसेन जेडन सिल्स, अलि खान

सन्दिपको व्यस्त खेलतालिका
सिपिएल टि-ट्वान्टी खेल्न जानु भन्दा अघि सन्दिप इंग्ल्यान्डको घरेलु टि-ट्वान्टी प्रतियोगिता ‘भाईटालिटि ब्लास्ट’ तथा ‘द हन्ड्रेड’ मा सहभागी हुने तालिका रहेको छ। ‘भाईटालिटि ब्लास्ट टि-२०’मा सन्दिप वर्सेस्टरशायर र्यापिडको लागि खेल्नेछन् भने ‘द हन्ड्रेड’ मा ओभल इन्भिन्सिबलबाट खेल्दैछन्।
सन्दिप लामिछाने पहिलो पटक इंग्ल्यान्डको घरेलु टि-ट्वान्टी प्रतियोगिता ‘भाईटालिटि ब्लास्ट’ तथा ‘द हन्ड्रेड’ लिगमा सहभागी हुँदैछन्। ‘भाईटालिटि ब्लास्ट टि-२०’मा सन्दिप वर्सेस्टरशायर र्यापिडको लागि खेल्नेछन् भने ‘द हन्ड्रेड’ मा ओभल इन्भिन्सिबलबाट खेल्दैछन्।
भाईटालिटि ब्लास्ट जुन ९ तारिख देखि सुरु हुनेछ भने १८ जुलाईसम्म पहिलो चरणको खेल चल्नेछ। दोश्रो चरण अन्तर्गत ४ वटा क्वार्टरफाइनल खेल अगस्ट २४ देखि २७ तारिखसम्म तथा तेश्रो चरणको सेमीफाइनल र फाइनल खेलहरु सेप्टेम्बर १८ तारिखमा खेलिनेछ। त्यस बीचमा द हन्ड्रेड लिग जुलाई २२ तारिख देखि अगस्ट २१ तारिखसम्म संचालन हुनेछ।
अगस्ट २८ तारिख देखि सिपिएल टि-ट्वान्टी सुरु हुने हुँदा सन्दिप सिपिएल खेल्न इंग्ल्यान्डबाट ‘द हन्ड्रेड’ लिग सकिएलगत्तै वेस्टइन्डिज प्रस्थान गर्नुपर्नेछ। वेस्टइन्डिजमा क्वारेन्टाइन बसेपछि मात्र सन्दिप लिगमा सहभागी हुन पाउनेछन्। सेप्टेम्बर १८ तारिखमा भाईटालिटि ब्लास्ट टि-ट्वान्टीको सेमीफाइनल र फाइनल खेल हुँदा सन्दिपको टिम अन्तिम-४ सम्म पुगेको खण्डमा झनै सन्दिपको सिपिएल पुरै खेल्ने सम्भावना कम रहेको छ। अथवा सिपिएल टि-ट्वान्टी पुरै खेलेको खण्डमा भाईटालिटि ब्लास्टको अन्तिम चरणको खेल गुमाउने छन्।
यो वर्ष जनवरीमा अस्ट्रेलियामा बिग ब्यास लिग खेलेपछि सन्दिपले विदेशी लिग खेलेका छैनन्। राशिद खानको स्थानमा पाकिस्तान सुपर लिग खेल्न फेब्रुअरीमा पाकिस्तान पुगेता पनि कोभिड-१९ का कारण प्रतियोगितानै स्थगित हुँदा सन्दिप खेलनै खेल्न नपाई नेपाल फर्कनुपरेको थियो।
यो पनि पढ्नुस
https://wicketnepal.com/mehboob-alamle-wisha-chakit-banayeko-din/
https://wicketnepal.com/puma-sponsor-ryan-burl-wn21/
https://wicketnepal.com/saryo-asia-cup-wn21-523/
https://wicketnepal.com/ipl-baki-khel-sep-oct/
