ग्लोबल टि-२० : सन्दिपले लिए दिपेन्द्रको विकेट, दुवैको राम्रो प्रदर्शन

क्यानडामा जारि ग्लोबल टि-२० क्यानडा लिग अन्तर्गत आफ्नो पहिलो खेल खेलेका दुई नेपाली खेलाडी सन्दिप लामिछाने र दिपेन्द्र ऐरीले राम्रो प्रदर्शन गरेका छन्।

गय राति सम्पन्न खेलमा मोन्टरियल टाइगर्सले सरे ज्यागुअरलाई ५ विकेटले पराजित गर्यो जुन क्रममा सरेले दिएको १३७ रनको लक्ष्य मोन्टरियलले ५ विकेट गुमाएर १८.३ ओभरमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा छैठौं नम्बरमा ब्याटिंग गरेका दिपेन्द्र ऐरीले २२ बलमा २ चौका मद्दतले २८ रन बनाए। त्यस क्रममा ऐरीले पाँचौ विकेटको लागि दिलप्रित सिंहसंग महत्वपूर्ण ५३ रनको साझेदारी गरे। दिपेन्द्रले पन्ध्रौँ ओभरमा म्याथु फोर्डलाई र सोह्रौं ओभरमा इफ्तिखार एहमदलाई चौका प्रहार गरे।

सत्रौं ओभरको तेश्रो बलमा दिपेन्द्रलाई सन्दिप लामिछानेले एलबिडब्लु आउट पारे। दिपेन्द्रको विकेटको लिएपछि सन्दिपले खुसि मनाएनन्।

सन्दिपले पहिलो विकेटको रुपमा बंगलादेशका स्टार क्रिकेटर शाकिब अल हसनलाई इनिंग्सको सातौँ ओभरमा पेभेलियन फर्काएका थिए। मात्र १३ बलमा ४ चौका र १ छक्का मद्दतले २६ रन बनाएर खतरनाक देखिएका शाकिबलाई स्पेलको पहिलो ओभरमै सन्दिपले क्याच आउट पारे। सन्दिपलाई कभरमा प्रहार गर्ने क्रममा शाकिब सर्ट कभरमा क्याच आउट भए।

राम्रो बलिंग गरेका सन्दिपले ४ ओभरमा मात्र १७ रन खर्चेर २ विकेट लिए। सातौँ ओभरमा बलिंग सुरुवात गरेका उनले पहिलो ओभरमा मात्र २ रन खर्चेर १ विकेट लिए। त्यसपछि नवौं ओभरमा ६ रन, चौधौं ओभरमा ६ रन तथा सत्रौं ओभरमा ३ रन खर्चेर १ विकेट लिए।

राम्रो प्रदर्शन गरेका सन्दिपले खेल पछि ‘मोमेन्ट अफ द डे’ अवार्ड पाए जसबापत उनले ५ सय डलर पुरस्कार समेत प्राप्त गरे।

लिग अन्तर्गत सरेले आगामी खेल जुलाई २४ तारिखमा राति १:१५ बजे ब्राम्प्टन वुल्भ्ससंग तथा मोन्टरियलले भोलि जुलाई २३ तारिख राति ८:४५ बजे मिसीसाउगा प्यान्थर्स विरुद्ध खेल्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy