पाकिस्तान सुपर लिग ( पिएसएल ) टि-२० खेल्न सन्दिप लामिछाने छनौट

नेपाली स्टार लेग स्पिनर सन्दिप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) टि-२० खेल्न छनौट भएका छन्। प्रतियोगिताको ड्राफ्ट मार्फत सन्दिप छनौट भएका हुन्।

खेलाडी छनौटका लागि मंगलबार भएको ड्राफ्टमा सन्दिपलाई लाहोर क्वालान्डर्सले छनौट गरेको हो। सन्दिपको नाम यसअघिनै “गोल्ड” श्रेणीमा रहेको थियो। गोल्ड श्रेणीमा रहेका सन्दिपको मूल्य ड्राफ्टमा कम्तिमा ५० हजार डलर हुने जानकारी विकेटनेपाललाई प्राप्त भएको छ।

सन्दिपको टोलि लाहोरले ड्राफ्टबाट एबी डीभिलियर्स, कार्लोस ब्रेथवाइट, फखर जमान जस्ता खेलाडीलाई छनौट गरिसकेको छ।

सन्दिपसंगै पीएसएल ड्राफ्टमा राष्ट्रिय टोलीका तिब्र गतिका बलर सोमपाल कामीको समेत नाम रहेको छ। यो समाचार तयार पार्दासम्म सोमपालको नाम रहेको सिल्भर श्रेणीको भने ड्राफ्ट हुन् बाँकी रहेको छ।

२०१९ को फ्रेबुअरी महिनामा आयोजना हुने पाकिस्तान सुपर लिग प्रतियोगितामा कुल ६ वटा टिम सहभागी छन् जसमा लाहोर क्वालान्डर्स, क्वेटा ग्ल्याडीएटर्स, कराँची किंग्स, पेशेवर जाल्मी, इश्मलामाबाद युनाइटेड रहेका छन् भने अर्को १ टिमको निर्क्योल हुन् बाँकीछ।

लिगको यस अघि २०१८ को संस्करण उपाधि इश्लामबाद युनाइटेडले जितेको थियो जुन टिम ड्यारेन सामीको कप्तानीमा रहेको थियो।

नेपाली गुगली ब्वाई सन्दिप लामिछाने यस अघि इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि-२० लिग क्यानडा, अफगानिस्तान प्रिमियर लिगमा खेलीसकेका छन् भने यसै महिना नोभेम्बर २३ देखि युएईमा आयोजना हुने टि-२० लिग र डिसेम्बर १९ देखि आयोजना हुने  चर्चित अस्ट्रेलियन लिग बिग ब्यास लिग तथा ५ जनवरी देखि आयोजना हुने बंगलादेश प्रिमीयर लिग खेल्न समेत छनौट भइसकेका छन्।

इन्डियन प्रिमियर लिगमा सन्दिप २० लाख भारतीय रुपैयाँमा बिक्रि भएका थिए भने क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दिप छानिएका थिए। यस्तै अफगानिस्तान प्रिमियर लिगमा उनले १५ हजार डलर तथा टि-२० लिगमा ३० हजार डलर मूल्य पाएका थिए। बिग ब्यास लिगमा सन्दिपले ६०-७० हजार डलर पाउनेछन्।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy