भिसा नआएका कारण इंग्ल्यान्डमा जुन ९ तारिख देखि सुरु हुने ‘भाईटालिटि टि-ट्वान्टी ब्लास्ट’ तथा जुलाई २२ तारिख देखि सुरु हुने ‘द हन्ड्रेड’ लिगमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेको सहभागिता अनिश्चित बनेको छ।
नेपाली लेग स्पिनर पहिलो पटक इंग्ल्यान्डको दुईवटा लिग खेल्न छनोट भएका हुन्। ‘भाईटालिटि ब्लास्ट टि-२०’मा सन्दिप वर्सेस्टरशायर र्यापिडको लागि खेल्नेछन् भने ‘द हन्ड्रेड’ मा ओभल इन्भिन्सिबलबाट खेल्दैछन्।
सन्दिपले इंग्ल्यान्ड प्रस्थान गर्ने मिति नजिकिँदै गैरहेको तर मंगलबार राति ट्वीट गर्दै आफुले भिसाको लागि बारम्बार भीएफएससंग ( भिसा फेसिलीटेसन सर्भिस ) सम्पर्क गरिरहेको तर बारम्बार अस्पस्ट जवाफ पाएको गुनासो गरेका छन्। नेपालमा रहेको भीएफएस अफिस लक डाउनका कारण बन्द रहेकोले सन्दिपलाई अझ समस्या भएको हो।
“टि-ट्वान्टी ब्लास्ट र द हन्ड्रेडमा सहभागी हुन जानको लागि युके भिसा अप्लाई गरको एक महिना भन्दा बढी समय भयो। मेरो फ्लाइटको दिन नजिकिँदै गैरहेको छ र मैले बारम्बार अपडेटको लागि अफिसमा सम्पर्क गर्दा कहिले पनि स्पस्ट जवाफ आएन।” सन्दिपले ट्वीट गरेका छन्।
“कठिन समयका बाबजुद हामि खेलाडीहरु आफ्नो तर्फबाट विश्वलाई मनोरञ्जन दिने प्रयास गरिरहेका छौँ। कुनै पनि किसिमको सहयोगको म ठूलो सम्मान गर्नेछु।” सन्दिपले थप ट्वीट गरेका छन् –
इंग्ल्यान्ड जानको लागि पूर्वनिर्धारित तालिका अनुसार सन्दिप मे २७ तारिख बिहिबार प्रस्थान गर्ने तालिका रहेको थियो तर नेपालको लकडाउन, उडान प्रतिबन्ध र भिसा समस्याले समस्या आएको हो।
कठिन बन्दै सन्दिपको इंग्ल्यान्ड यात्रा
नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध गरेको परिस्थितिमा सन्दिपको इंग्ल्यान्ड यात्रा कठिन रहेको छ। जुन १ देखि सरकारले अन्तर्राष्ट्रिय चार्टर्ड फ्लाइट सुरु गर्ने अनुमति दिएमा भने उनलाई केहि सहज हुनेछ। तर त्यसको लागि सबैभन्दा पहिले भिसा आउनु पर्नेछ। भिसा आएपछि मात्र सन्दिपले यात्रा योजना बनाउन पाउनेछन्।
थप समस्या
सन्दिपलाई थप समस्या इंग्ल्यान्डले नेपालबाट जाने सिधा फ्लाइट प्रतिबन्ध गर्नु हो। त्यसो हुँदा सन्दिप नेपालबाट तेश्रो मुलुक हुँदै इंग्ल्यान्डतर्फ प्रस्थान गर्नुपर्नेछ।
यदी चार्टर्ड फ्लाइटमा सन्दिप तेश्रो मुलुक हुँदै इंग्ल्यान्ड जान सम्भव भएमा पनि इंग्ल्यान्ड पुगेर प्रतियोगिता खेली हाल्न सन्दिपले पाउनेछैनन्। किनकि इंग्ल्यान्ड प्रस्थान गर्नु अघि पुगेको देशमा क्वारेन्टाइन बसेपछि मात्र उनि इंग्ल्यान्ड जान पाउनेछन्। इंग्ल्यान्ड पुगेपछि पनि सन्दिप १० देखि १४ दिन क्वारेन्टाइन बस्नुपर्नेछ। क्वारेन्टाइन अवधि कुन देशबाट सन्दिप इंग्ल्यान्ड पुग्नेछन् त्यसले तय गर्नेछ।
भिसा आएपछि मात्र सन्दिप कसरि इंग्ल्यान्ड पुग्ने तालिका बनाउन मिल्नेछ जसको लागि भिसा कुर्नु बाहेक सन्दिपसंग बिकल्प रहेको छैन।
गत सिजन करेबियन प्रिमियर लिग खेल्न जानु अघि समेत सन्दिपलाई यस्तै कठिनाइ भएको थियो। अन्तर्राष्ट्रिय उडान नखुल्दा सन्दिपले ठूलो कसरत गरेपछि चार्टर्ड फ्लाइटमार्फत वेस्टइन्डिज पुगेका थिए।
सुरुवाती खेल गुमाउने निश्चित
‘भाईटालिटि ब्लास्ट टि-२०’मा सन्दिपको टिम वर्सेस्टरशायर र्यापिडले पहिलो खेल जुन ९ तारिखमा नटिंघमशायरसंग खेल्दैछ। खेल १४ दिन पछि रहेकोले सन्दिपले लिगको सुरुवाती केहि खेल गुमाउने निश्चित छ। भिसा आएर, तेश्रो मुलुक हुँदै इंग्ल्यान्ड पुग्नु तथा क्वारेन्टाइनमा बस्नुपर्ने कारण सुरुवाती खेल खेल्नु असम्भव रहेको छ।
वर्सेस्टरशायरले दोश्रो खेल जुन ११, तेश्रो खेल जुन १३, चौथो खेल जुन १६ तथा चौथो खेल जुन १८ तारिखमा खेल्ने तालिका रहेको छ। लिगको पहिलो चरणमा टिमले कुल २३ वटा खेल खेल्नेछ। ‘भाईटालिटि ब्लास्ट टि-२०’ चल्दै गर्दा जुलाई २२ तारिखबाट अगस्ट २१ तारिखसम्म ‘द हन्ड्रेड’ लिग समेत संचालन हुनेछ। द हन्ड्रेड लिग खेलेपछि सन्दिप अगस्ट २८ देखि सुरु हुने सिपिएल टि-ट्वान्टी खेल्न वेस्टइन्डिज जानेछन्।
अमेरिकाले सन्दिपलाई भिसा नदिंदा
सन्दिपको विदेश यात्रामा भिसा समस्या आएको यो पहिलो पटक हैन। २०१९ को करेबियन परिमियर लिगमा सहभागी हुन अमेरिका हुँदै वेस्टइन्डिज यात्रा गर्नु पर्दा सन्दिपलाई अमेरिकी दुतावासले भिसा दिएको थिएन। भिसा नदिएपछि सन्दिपले ट्वीटरमार्फत अमेरिकी दुतावासलाई भिसा नदिएको भन्दै आश्चर्य प्रकट गरेका थिए। सन्दिपले भिसा नपाउदा सामाजिक सञ्जालमार्फत धेरै समर्थकहरुले दुतावासलाई दबाब दिएका थिए। सन्दिपले ट्वीट गरेपछि अमेरिकी दुतावासले बल्ल सन्दिपलाई भिसा दिएको थियो। दुतावासले सन्दिपलाई व्यक्तिगत रुपमा सम्पर्क गरेर बोलाएपछि समस्या समाधान भएको थियो।
धेरैले पढेको
https://wicketnepal.com/sandeep-cpl-t20-wn21-tringabo/
https://wicketnepal.com/ban-beat-sl-2nd-odi-5-25/
https://wicketnepal.com/sunam-brisbane-p-l-chanot-wn21/
https://wicketnepal.com/afg-vs-pak-maitripurna-ser-wn21/