आईसीसी ओडीआई वरियतामा सन्दिपको ऐतिहासिक फड्को

२०७८ भाद्र ३०, बुधबार १९:३३

Sandeep Lamichhane

नेपाली लेग स्पिनर सन्दिप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषदको एकदिवसीय अन्तर्राष्ट्रिय ( ओडीआई ) बलिंग वरियताको शिर्ष सय स्थानमा प्रवेश गर्दै नयाँ इतिहास बनाएका छन्।

आईसीसीले सार्वजनिक गरेको ताजा वरियता अनुसार सन्दिप ९१ औं स्थानमा रहेका छन्। २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न सुरु गरेको नेपाली टिमका कुनै पनि खेलाडी हालसम्म वरियताको शिर्ष १०० भित्र पर्न सकेका थिएनन्।

ओमान भ्रमणमा जानु अघि सन्दिप वरियताको १२८ औं स्थानमा रहेका थिए। भ्रमण अन्तर्गत पपुवा न्यु गिनी बिरुद्धको दुई वटा एकदिवसीय अन्तर्राष्ट्रियमा क्रमशः पहिलो खेलमा ४ तथा दोश्रो खेलमा ६ विकेट लिएका उनले लिग-२ अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिका बिरुद्ध २ विकेट लिएका थिए। मात्र ३ खेलमा १२ विकेट लिएपछि नेपाली बलर १२८ औं स्थानबाट एकै चोटी ३७ स्थान माथि उक्लेका हुन्। ओमान बिरुद्ध पछिल्लो खेलमा भने उनले पेटको दुखाइका कारण बलिंग गर्न सकेका थिएनन्।

एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक विकेटकर्ता सन्दिपले १४ खेल खेल्ने क्रममा १३ इनिंग्समा बलिंग गर्दी ३५ विकेट लिईसकेका छन्।  सन्दिपले यदी ४ खेलमा १५ विकेट लिन सक्ने हो भने उनि विश्वकै सबैभन्दा छिटो ५० एकदिवसीय अन्तर्राष्ट्रिय विकेट लिने बलर बन्नेछन्। यो रेकर्ड श्रीलंकाको अजन्था मेन्डिसको नाममा रहेको छ जसले १९ खेलमा ५० विकेट पुरा गरेका थिए।

अन्य नेपाली खेलाडीहरु एकदिवसीय अन्तर्राष्ट्रिय वरियता : एकदिवसीय अन्तर्राष्ट्रिय वरियता क्रममा सन्दिप पछि करन केसी १४४ औं स्थानमा रहेका छन् भने देब्रे हाते स्पिनर सुशन भारि १४६ औं स्थानमा रहेका छन्। यस्तै सोमपाल कामि १५८ औं, कुशल मल्ल १८४ औं, बिक्रम सोब २६९ औं स्थानमा रहेका छन्।

ब्याटिंग वरियतामा बिनोद भण्डारी १६७ औं, कप्तान ज्ञानेन्द्र मल्ल १८६ औं, कुशल मल्ल २२७ औं, रोहित पौडेल २४८ औं, आरिफ शेख २५२ औं, आसिफ शेख २८६ औं, शरद भेसावकर ३०१ औं, कुशल भुर्तेल ३५७ औं स्थानमा रहेका छन्।

नेपाली क्रिकेट टिम एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा १५ औं स्थानमा रहेको छ। यस्तै टि-२० अन्तर्राष्ट्रिय वरियतामा एसोसिएट राष्ट्रहरु मध्ये सबैभन्दा माथि १३ औं स्थानमा छ।

टि-ट्वान्टी अन्तर्राष्ट्रिय बलिंग वरियतामा सन्दिप लामिछाने ८१ औं स्थानमा रहेका छन् जो शिर्ष १ सय भित्र हुने एक मात्र नेपाली बलर हुन्। टि-२० अन्तर्राष्ट्रिय ब्याटिंग वरियतामा कुशल भुर्तेल ५९ औ स्थानमा छन्। सन्यास लिईसकेका पूर्व कप्तान पारस खड्का ८८ औं तथा वर्तमान कप्तान ज्ञानेन्द्र मल्ल ९३ औं स्थानमा छन्। अन्य ब्याट्सम्यान शिर्ष सय भित्र छैनन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy